काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ आश्विन २०८२
फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले चारैवटा सुरक्षा निकायका प्रतिनिधिसँग छलफल गरेका छन्। अर्यालले देशको पछिल्लो सुरक्षा स्थिति, जेन-जी आन्दोलन, मनसुनजन्य विपत्तिलगायत विषयमा अर्यालले सुरक्षा निकायका प्रतिनिधिहरूसँग बिहीबार छलफल गरेका हुन्।

छलफलमा नेपाल प्रहरीका प्रमुख चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र नेपाली सेनाका प्रतिनिधि सहभागी भएको गृह प्रवक्ता आनन्द काफ्लेले बताए। “देशको पछिल्लो सुरक्षा स्थिति, जेन-जी आन्दोलन र प्राकृतिक विपत्‌बारे छलफल भएको छ,” बैठकबारे गृहका एक अधिकारीले भने।

जेन-जी समूहले तत्काली प्रधानमन्त्री केपी ओली तथा गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने भन्दै प्रहरीमा उजुरी दिएका थिए। पक्राउ गर्न उनीहरूले गृहमन्त्री अर्याललाई दबाब दिँदै आएका छन्।

अर्कोतर्फ एमाले निकट अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र जेन-जी अभियन्ता सुदन गुरुङविरूद्ध उजुरी दिएका छन्। एकातिर दोहोरो उजुरी पर्नु, जेन-जीले असन्तुष्टि राखिरहँदा अर्यालले सुरक्षा प्रमुखहरूलाई बोलाएर छलफल गरेका हुन्।

गृहमन्त्री अर्याल ओली र लेखक दुवैलाई पक्राउ गरेर कारबाही गर्न सकारात्मक देखिए पनि सुरक्षा निकायले अस्वीकार गरिरहेका छन्। जेन-जी आन्दोलनपछि बनेको जाँचबुझ आयोगले अनुसन्धान गरिरहेको बेला त्यसलाई प्रभाव पार्ने गरी अहिले अप्रिय कदम चाल्न नहुने भनी सुरक्षा निकायका प्रमुखले गृहमन्त्रीलाई सुझाव दिएका छन्।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले समेत सुरक्षा निकायहरूसँग आफ्नो कार्यालयमा छलफल गरेकी थिइन्।