काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। माइतीघर क्षेत्रबाट प्रहरीले २६ जनालाई बिहीबार नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुमतिबेगर जुलुस र सभा गर्न पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले निकोलस (कमल) भुसाल, मनोजकुमार भट्टराई, रामप्रकाश महतो, अशोक विष्ट, दिनेश सुवेदी, वीरगन्ज विश्वकर्मालगायतलाई माइतीघरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए। “सभा-जुलुस गर्नका लागि जिल्ला प्रशासन कार्यालयको अनुमति चाहिन्छ, अनुमतिबेगर आएपछि प्रहरीले हस्तक्षेप गरेको हो,” भट्टराईले भने।

अनुमति लिएर सभा-जुलुस गर्दा प्रहरीले सुरक्षा दिने गरेको छ। अनुमतिबिनै सभा-जुलुस गर्न नपाइने हुनाले माइतीघर पुगेकाहरूमाथि हस्तक्षेप गरिएको भट्टराईले बताए। पक्राउ परेकालाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ। कसुर हेरेर उनीहरूलाई रिहा गरिने भट्टराईले बताए।

भुसाल यसअघि साइबरसम्बन्धी कसुरमा पक्राउ परेका थिए। कास्की प्रहरीको हिरासतमा रहेका बेला रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा उनी पक्राउ परेका थिए।

यसपटक भुसाल जेन-जी आन्दोलनको माग पूरा नभएको भन्दै समूह लिएर माइतीघर पुगेका थिए। “अनुमतिबेगरै सभा-जुलुस गर्न बोलाएर समाजलाई उत्तेजित बनाउने र मुठभेड निम्त्याउने कार्य गरेको देखियो,” भट्टराईले भने।

जेन-जी समूहहरूले बिहीबारदेखि आन्दोलन गर्ने चेतावनी दिएका थिए। गृह मन्त्रालयले बुधबार बेलुका वार्ता र संवादमार्फत समाधान खोज्न आग्रह गरेपछि जेन-जीहरूले आन्दोलन स्थगित भएको बताएका थिए।
यही मौकामा माइतीघरमा अन्य व्यक्तिहरू बिहीबार बिहानैदेखि भेला हुन थालेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो।