काठमाडौँ। संरक्षित वन्यजन्तु सालकको छाला र खपटासहित दुईजना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका-३ का २१ वर्षीय लिजोङ तामाङ र नुवाकोट बेलकोटगढी नगरपालिका-१ का ३९ वर्षीय श्याम ढुंगाना रहेका छन्।
उनीहरूलाई काठमाडौँ तारकेश्वर नगरपालिका-१ शिव मन्दिर चोकबाट बिहीबार पक्राउ गरिएको ब्युरोका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताए।
पक्राउ परेकाको साथबाट सालकको खपटा दुई किलो र सालकको छाला दुई थान बरामद भएको श्रेष्ठले बताए। गैरकानुनी रूपमा वन्यजन्तुको आखेटोपहार ओसारपसार र खरिद-बिक्री भइरहेको सूचना पाएपछि ब्युरोको टोली तारकेश्वर पुगेको थियो।
पक्राउ परेकालाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ।