काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

२४ आश्विन २०८२
सम्पादकहरूसँगको अन्तर्क्रियामा पुष्पकमल दाहाल। तस्बिर : हरिराम भेटुवाल/रासस
अ+
अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले निर्वाचन गराउन र संविधान संशोधन गर्नका लागि दलहरूबीच राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन्। माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै संयोजक दाहालले अहिले राष्ट्र संकटमा रहेकाले राष्ट्रिय सहमतिको आवश्यकता भएको बताएका हुन्।

“हामी सबै एउटा राष्ट्रिय सहमतिको वातावरण बनाउनेतर्फ योगदान गरौँ। राष्ट्रिय सहमति गरेर यो देशको स्वतन्त्रता, स्वधिनता र राष्ट्रिय अस्मिताको रक्षा गर्ने कुरा उच्च प्राथमिकतामा राखेर अघि बढ्ने संकल्प गरौँ। घोषणा भएको निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज र प्रेस जगत एक भएर नलागीकन यो निर्वाचन सफल र सम्पन्न गर्न र यो संविधान यथास्थितिमा चल्न सक्दैन भन्ने प्रमाणित भइसक्यो। नयाँ ढंगले संविधान परिमार्जन र संशोधन गर्न राष्ट्रिय सहमति नै आवश्यक छ।”

राष्ट्रिय सहमति र समझदारीबाट विगतमा ठूला ठूला संकट समाधान गरेको स्मरण गर्दै दाहालले भने, “दश वर्षे जनयुद्ध निकै जटिल थियो। त्यसलाई पनि राष्ट्रिय सहमतिबाट समाधान गर्‍यौँ।”

दाहालले राष्ट्रिय सहमतिका लागि आफूले पहल गर्न संकेत पनि गरेका छन्। अन्तर्क्रियामा दाहालले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिईकनै अंहकार प्रदर्शन नगर्न सुझाव दिएका छन्। “राष्ट्र धेरै ठूलो संकटमा भएको हुनाले हामी सबै देशलाई माया गर्नहरू सबै राष्ट्रवादी शक्तिहरू सबै लोकतन्त्रवादी शक्तिहरू एक हुनुको कुनै विकल्प छैन। अहिले पनि हामीले अहंकार नै प्रस्तुत गर्‍यौँ र आफ्नो कमिकमजोरी स्विकार्न हिचकिचायौँ भने देश अझ ठूलो दुर्घटनामा जाने खतरा छ,” दाहालले भने।