काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ आश्विन २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौं। सुनसरीका प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेवेको अफिसियल नम्बरको ह्वाट्सएप ह्याक भएको छ।

उनले प्रयोग गर्ने गरेको ९८५२०८५५५५ नम्बर ह्याकरले आफ्नो नियन्त्रणमा लिएको हो। चार दिनदेखि थेवेको अफिसियल नम्बरको ह्वाट्सएप ह्याक गरी विभिन्न व्यक्तिसँग रकम माग गरिएको छ। थेवेका अनुसार चार दिनदेखि लगातार विभिन्न व्यक्तिसँग रकम माग गरिएको छ। “कार्यालय प्रयोजनको नम्बर ह्याक गरेर व्यक्ति हेरीहेरी हजारौं रकम माग गरिएको छ,” थेवेले भने, “ह्याकर पत्ता लागेको छैन।”

उनको नम्बरबाट मोरङका प्रहरी उपरीक्षकदेखि अन्य व्यक्ति र पत्रकारहरूसमेतलाई रकम माग गरिने गरिएको छ। “कसैलाई २०, कसैलाई ३० देखि ५० हजार रुपैयाँसम्म माग गरिएको सूचना पाएको छु,” थेवेले भने।

आफ्नो कार्यालय प्रयोजनको नम्बरको ह्वाट्सएपबाट निरन्तर रकम माग गरिएको गुनासो आएपछि आफूले साइबर ब्युरो भोटाहिटीलाई खबर गरी अनुसन्धान गर्न भनेको थेवेले बताए।

थेवेको ह्वाट्सएपमा सुरज गोउन्ड कहरले सानिमा बैंकको क्यूआर पठाउने गरेका छन्। “त्यस्तो क्यूआर आएका साथीहरूलाई रकम नपठाउन अनुरोध गरेको छु,” थेवे भन्छन्। साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपक अवस्थीले जानकारी आउनासाथ अनुसन्धान थालिएको बताए। “एसपीसा’बको अफिसियल नम्बरको ह्वाट्सएप ह्याक भएर रकम माग गरेको जानकारी आउना साथ अनुसन्धान थालेका छौं,” उनी भन्छन्, “म्यासेज रोकेर ह्वाट्सएप अकाउन्ट ह्याकरबाट फिर्ता ल्याउने प्रयास भइरहेको छ।”

प्रहरीले घटनाको प्राविधिक विवरण र ह्याकर पहिचान भएपछि आगामी कारबाही अघि बढाउने बताएको छ। पीडित व्यक्तिहरूले साइबर ब्युरोमा उजुरी दर्ता गर्न सक्ने अवस्थीले बताए।

साथै विराटनगरका पत्रकार देवनारायण साहको मोबाइल नम्बरको ह्वाटसएप पनि ह्याक भएको छ। ह्वाट्सएपबाट सोही प्रकारले रकम माग गरिरहेको र आफूले अनुसन्धान गर्न प्रहरीमा निवेदन दिएको साहले बताए। “मेरो नम्बरको ह्वाट्सएपबाट ह्याकरले सेभ भएका व्यक्तिहरूको नम्बरमा म्यासेज पठाएर हैरान पारेको छ,” साहले भने।