काठमाडौं। प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनविरूद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ।
नयाँ मुद्दा दर्ता गर्न थालिएको पहिलो दिन मंगलबार प्रतिनिधिसभा विघटन र अन्तरिम सरकारविरूद्ध पाँच वटा निवेदन परेको सहायक प्रवक्ता निराजन पाण्डेले बताए।
प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गैरकानुनी भएको भन्दै निवेदन परेको पाण्डेले बताए। “निवेदन परेका छन्, ती निवेदन के गर्ने भन्नेबारे छलफल चलिरहेको छ,” पाण्डेले भने।
जेन-जी आन्दोलनपछि २७ भदौमा अन्तरिम सरकार गठन भएको थियो। अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएपछि सुशीला कार्कीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। विघटनपछि २१ फागुनमा प्रतिनिधिसभाको नयाँ निर्वाचन घोषणा गरिएको छ।
जेन-जी आन्दोलनका क्रममा आगजनीपछि सर्वोच्च अदालतले मंगलबारबाट नयाँ मुद्दा दर्ता अघि बढाउन थालेको थियो।