काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका ४४ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा कार्कीले दर्ज्यानी चिह्नद्वारा प्रदान गरेका हुन्। प्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २१ जेठ को निर्णयले जनपदतर्फ एकजना तथा प्राविधिकतर्फ तीनजना गरी प्रहरी वरिष्ठ उपरीक्षक पदमा चारजना, गृह मन्त्रालय (सचिवस्तर) को २१ जेठकै निर्णयले जनपदतर्फ एकजना तथा प्राविधिकतर्फ १२ गरी प्रहरी उपरीक्षक पदमा १३ जना, प्राविधिक प्रहरी नायब उपरीक्षक पदमा १६ र प्राविधिक प्रहरी निरीक्षक पदमा १४ गरी ४७ जनामध्ये ४४ प्रहरी अधिकृतले दर्ज्यानी चिह्न प्राप्त गरे।
पदोन्नति भएकामध्ये एकजना प्राविधिक प्रहरी उपरीक्षक र दुईजना प्राविधिक प्रहरी नायब उपरीक्षक भने अहिले तालिमको सिलसिलामा कोरियामा छन्।
समारोहमा कार्कीले दर्ज्यानी चिह्नद्वारा सुशोभन भएका प्रहरी अधिकृतलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। आफ्नो कार्यक्षेत्रमा प्रदर्शित लगनशीलता, इमानदारिता, व्यावसायिक निष्ठा र सेवाप्रतिको अटुट प्रतिबद्धताको उचित मूल्यांकनका आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीमा अझ बढी सिर्जनशील, थप जवाफदेही र संवेदनशील भई कार्यसम्पदान गर्न दर्ज्यानी चिह्नबाट सुशोभित प्रहरी अधिकृतहरूलाई कार्कीले निर्देशन दिए।
उनले शान्ति सुव्यवस्था कायम गर्ने एवं अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने प्रहरीको मूल दायित्वमा जनपद तथा प्राविधिक समूहको उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको चर्चा गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरूबाट संगठनले सकारात्मक र निष्ठापूर्ण भूमिकाको अपेक्षा गरेको बताए।

तस्बिर : नेपाल प्रहरी
पदोन्नतिसँगै पदीय दायित्व र मर्यादाको घेरा पनि बढ्दै जाने हुनाले त्यसतर्फ सचेत भई काम गर्नुपर्ने उल्लेख गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सांगठनिक मूल्य-मान्यतालाई प्राथमिकतामा राखेर संगठनको श्रीवृद्धि हुने गरी दायित्व बहन गर्न उनले निर्देशन दिए।
परिवर्तित परिस्थितिसँगै थप चुनौती र प्रहरीसँग नागरिकको अपेक्षा पनि बढिरहेको उल्लेख गर्दै निष्पक्ष, व्यावसायिक र जनउत्तरदायी भई राज्यको असल प्रतिनिधिका रूपमा सांगठनिक छवि बढाउँदै कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिए।
त्यस अवसरमा पदोन्नति भएका अधिकृतहरूका तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्रबहादुर सिंहले पदोन्नतिबाट प्राप्त भएको जिम्मेवारीमा पूर्ण समर्पित भई संगठनको लक्ष्य प्राप्तिमा अझ उत्कृष्ट ढंगले कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको उपस्थिति थियो।