काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

८ भाद्र २०८२
वीरगन्जस्थित वीरगन्ज हेल्थ केयरमा बिरामीलाई भुइँमा सुताएर हैजाको उपचार हुँदै। तस्बिरहरू : जियालाल साह/नेपालन्युज।
अ+
अ-

काठमाडौं। केन्द्रीय सुरक्षा समितिको बैठक आइतबार गृह मन्त्रालयमा बसेको छ। बैठकमा मुलुकभरको शान्ति सुरक्षाको समीक्षा गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न माग राख्दै भइरहेका धर्ना, जुलुस, आन्दोलन तथा अवाञ्छित गतिविधिलाई मध्यनजर गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने विषयमा पनि छलफल भएको छ। त्यसैगरी, बैठकले पर्साको वीरगन्जमा फैलिएको हैजा प्रकोपलाई मध्यनजर गरी आवश्यक परेर तत्काल मेडिकल टिमसहित परिचालन गर्ने तयारी गरेको छ।

बैठकमा गृहमन्त्री रमेश लेखकले हैजा प्रकोप मध्यनजर गरेर आवश्यक परेर तत्काल परिचालन हुन सक्ने गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिए।

“चिकित्सकसहितको मेडिकल टोली आवश्यक परे परिचालन गर्ने गरी तयारी रहन मन्त्रीज्यूबाट निर्देशन भएको छ,” प्रवक्ता काफ्लेले भने, “सोहीअनुसार सुरक्षा निकाय पनि तयारीमा जुटिसकेको छ।”

बैठकमा गृहसचिव गोकर्णमणि दुवाडीसहित सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि सहभागी थिए।