गतिशील पार्टीको अध्यक्षमा समाजशास्त्री तथा उद्यमी दिनेश प्रसाई तथा महासचिवमा पियुष कायस्थ
काठमाडौं। बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतको पहलमा नयाँ राजनीतिक दल गठन भएको छ। निर्वाचन आयोगमा बिहीबार दर्ता भएको पार्टीको नाम गतिशील लोकतान्त्रिक पार्टी रहेको छ।
गतिशील पार्टीको अध्यक्षमा समाजशास्त्री तथा उद्यमी दिनेश प्रसाई तथा महासचिवमा पियुष कायस्थ रहेका छन्। प्रसाई पोखराको होटेल जलमहलका कार्यकारी निर्देशक हुने भने कायस्थ युरोपेली संघमा लामो समय काम गरेका व्यक्ति हुन्।
बस्नेत भने पार्टी कार्यसमिति सदस्यका रुपमा रहनेछन्। कास्थले युरोपेली संघका लामो समय कार्यरत थिए। हालकै व्यवस्था संघीय लोकतान्त्रिक व्यवस्थाप्रति समर्थन गर्ने दलको प्रमुख उद्देश्य दिगो रोजगारी सिर्जना रहेको छ। त्यसैगरी उम्मेदवारको छनोट प्राइमरीबाट गर्ने, पार्टीको आर्थिक कारोबार तीन-तीन महिनामा वेबपेजमा राखेर पारदर्शिता कायम गर्ने जनाएको छ।
“सबै नेपालीको प्रथम अधिकार रोजगारी हो- त्यो पनि दिगो रोजगारी। यो नै सरकारको प्रथम कर्तव्य हो,” गतिशील पार्टीको अवधारणापत्रमा भनिएको छ, “सरकारको पूर्ण कार्य भनेकै विकासको कार्य, लगानीको कार्य, राज्य व्यवस्थापनको कार्य, नागरिकका लागि दिगो रोजगारी सिर्जना गर्ने हो।”
दलले प्रत्येक नागरिकलाई सिर्जनशील तथा रचनात्मक कार्यमा व्यस्त राख्ने वातावरण निर्माण दाबी गरेको छ। उनीहरुले यसबाट समाज र राष्ट्र चलायमान हुने ठानेको छ। “राष्ट्रमा समृद्धि र शान्ति सुव्यवस्था स्थापित हुन्छ। यसैकारण हामी नेपालको भविष्यप्रति चिन्तनशील आमनागरिक यसको समाधानका लागि पार्टी खोल्ने निष्कर्षमा आएका छौं,” दलले भनेको छ, “राजनीतिमा होमिनु हाम्रो राष्ट्रप्रतिको चिन्ता हो, पेसा होइन। हामी विविधताको सुसंस्कृति र सामाञ्जस्यपूर्ण समाजका लागि बहुलताको राजनीतिक लिएर आएका छौं।”
नयाँ दलमा राजनीतिलाई पूर्णकालीन पेसामा बन्देज लगाउने र नयाँ-नयाँ अनुहार र सोचको प्रवाहलाई थप बढावा दिने जनाएको छ। त्यसैगरी होलटाइमर कार्यकर्तालाई पनि यो दलले नराख्ने जनाएको छ। २० प्रतिशतभन्दा कम मत आउन्जेल सररकारमा सहभागी नहुने जनाएको छ।
“भविष्यको पुस्ताका लागि एउटा संस्थागत नासोका रुपमा स्थापित हुन्छ,” दलको अवधारणमा भनिएको छ, “हामीले आश्रय र आश्रित राजनीतिलाई बर्जित गरेका छौं। त्यसैले हाम्रा कुनै पनि वर्गीय संगठन हुने छैन। हाम्रो पूर्णकालीन कार्यकर्ता पनि हुने छैन। २० प्रतिशतभन्दा कम मत पाएको खण्डमा हामी सरकारमा पनि सामेल हुने छैनौं।”
राजनीतिलाई पूर्णकालीन पेसामा बन्देज लगाउँछ भने नयाँ अनुहार र सोचको प्रवाहलाई थप बढावा दिन्छ। भविष्यको पुस्ताका लागि एउटा संस्थागत नासोको रुपमा स्थापित हुन्छ। हामीले आश्रय र आश्रित राजनीतिलाई वर्जित गरेका छौं। त्यसैले हाम्रा कुनै पनि वर्गीय संगठन हुने छैन। हाम्रो पूर्णकालीन कार्यकर्ता पनि हुनेछैन। २० प्रतिशतभन्दा कम मत पाएको खण्डमा हामी सरकारमा पनि सामेल हुने छैनौं।
दलको नारा ‘सबै मिलौं, देश बचाऊँ, देश बनाऊँ’ रहेको छ। यो राजनीतिक दल सुरुदेखि नै एक व्यक्ति एक पदको व्यवस्था लागु गर्ने र एकै व्यक्ति एउटै पदमा दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था गर्ने जनाएको छ। दलले उम्मेदवारको छनोट प्राइमरीबाट गर्ने जनाएको छ।
– पार्टीको जुनसुकै कार्यसमितिको पदमा सोह्र वर्षसम्म बहाल रहेपछि, पार्टीको कुनै पनि कार्यसमितिको पदमा नियुक्त हुन नपाउने।
– पार्टी कार्यसमितिका पदाधिकारी र सार्वजनिक पदमा जाने व्यक्ति छुट्टाछुट्टै हुने।
– सार्वजनिक पद मन्त्री, प्रधानमन्त्रीमा दुई चोटीभन्दा बढी प्रतिनिधित्व गर्न नपाइने।
– पार्टीको हरेक गतिविधि खुला सफ्टवेयरको माध्यमबाट निगरानी गर्ने।
– निकटको चुनावबाहेक आगामी चुनावमा स्थानीय स्तरको सुरुआती (प्राइमरी)तहबाटै सबैको सहभागितामा उम्मेदवार छान्ने।
– देशको सबै भूगोलमा सुशासन, उद्यमशीलता र समताको प्रतिबद्धता गर्दै संघीय स्तरमा प्रत्येक एजेन्डामा महासचिवहरु र प्रदेश र पालिकामा सचिवहरु रहनेछन्।
– यसैगरी पार्टीको सबै तहमा चेतनशील, कर्मठ, समावेशी नेतृत्व हुने।
पारदर्शी हिसाब-किताब
पार्टी आम्दानीको मुख्य स्रोत नै कार्यकर्ता, शुभेच्छुक एवं सर्वसाधारण जनता हुने बताउँदै दलले जम्मा भएको रकम कम्प्युटरकृत प्रणालीबाट जम्मा हुने र पार्टीको हरहिसाबमा पूर्ण पारदर्शी हुने दाबी गरेको छ।
पार्टीलाई प्राप्त सहयोग रकम वेबसाइटमा प्रकाशित गरिने, वार्षिक बजेट विनियोजनअनुसार खर्च विवरण पनि वेबसाइटमा राखिने, आधिकारिक लेखा परीक्षकबाट त्रैमासिक एवं वार्षिक हरहिसाब एवं वासलात तयार गरि सबैले हेर्न मिल्नेगरी पार्टीको वेबसाइटमा राखिनेछ।