काठमाडौँ
००:००:००
२८ जेष्ठ २०८३, बिहीबार

राजनीति

सदस्यता विवादले कांग्रेसमा नयाँ ध्रुवीकरण, अद्यावधिक नगर्ने नेता-कार्यकर्ताबारे संस्थापन पक्ष लचक

२८ जेष्ठ २०८३
नेपाली कांग्रेसका नेताहरू क्रमश: शेखर कोइराला, शेरबहादुर देउवा र पार्टी सभापति गगन थापा।
अ+
अ-

नेपाली कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा सकिनै लाग्दा आन्तरिक शक्ति सन्तुलन नयाँ मोडमा पुगेको छ। लामो समय एकअर्काका प्रतिस्पर्धी रहँदै आएका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला सदस्यता अद्यावधिक विवादमा एउटै मोर्चामा उभिएका छन्।

२ जेठदेखि देशभरि नेपाली कांग्रेसले सदस्यता अद्यावधिक सुरु गरेको थियो। २२ जेठमा सदस्यता अद्यावधिकको समय सकिए पनि २८ जेठ राति १२ बजेसम्मका लागि समय थपिएको छ। समय घर्किन लाग्दा पनि देउवा-कोइराला समूहका अधिकतर सदस्यले अद्यावधिक गरेका छैनन्। शीर्ष नेताहरूले समेत अद्यावधिक नगरी संस्थापन पक्षलाई चुनौती दिएका छन्।

आठ लाखमध्ये अहिलेसम्म करिब साढे चार लाखले मात्रै सदस्यता अद्यावधिक गरेका छन्। संस्थापन पक्षले भने साढे ६ लाखको हाराहारीमा अद्यावधिक भएको दाबी गरिरहेको छ। अद्यावधिक बहिष्कार गरेकाले इतर समूहमा तथ्यांक नै छैन।

यसअघि सभापति गगन थापा र निवर्तमान सभापति देउवा दुवै समूहसँग टाढै बसेर ‘मध्यमार्गी’ को पहिचान बनाएका कोइराला अद्यावधिकबारे कुरा मिलेपछि अहिले देउवा समूहसँग नजिकिएका हुन्।

अद्यावधिकको समय समाप्तपछि संस्थापन पक्षले अपनाउने रणनीतिलाई मध्यनजर गर्दै दुवै समूह नजिकिएका हुन्। कोइरालाले आफू सदस्यता अद्यावधिक नगर्ने, बरु पार्टी छोड्न तयार रहने अभिव्यक्ति दिँदै आएका छन्। यसअघि सभापति गगन थापा र निवर्तमान सभापति देउवा दुवै समूहसँग टाढै बसेर ‘मध्यमार्गी’ को पहिचान बनाएका कोइराला अद्यावधिकबारे कुरा मिलेपछि अहिले देउवा समूहसँग नजिकिएका हुन्।

देउवा-कोइराला समूहले ३१ जेठमा कोसी प्रदेशमा भेला बोलाएको छ, त्यसको नेतृत्व कोइराला आफैँ गर्दै छन्। त्यसअघि नै मधेस प्रदेशमा देउवा समूहले ३० जेठमा भेला बोलाएको छ। जसको नेतृत्व आनन्दप्रसाद ढुंगाना र विमलेन्द्र निधिले गर्दै छन्।

देउवा समूहको भेलालाई स्वाभाविक रूपमा लिइए पनि कोइराला-देउवा दुवै सम्मिलित भेलाले भने कांग्रेस संस्थापन पक्षलाई चुनौती दिएको छ। भेलाको आयोजक जिल्ला, नगर वा प्रदेशमध्ये कुन समिति हुने अन्योल नै रहे पनि मुख्य अतिथि कोइराला हुने टुंगो लागिसकेको छ।

नेपाली कांग्रेस विराटनगर महानगरपालिका सभापति दीपक चापागाईंका अनुसार भेला कोसी प्रदेश समितिद्वारा नै आयोजना गर्न लागिएको थियो। तर, कोसी प्रदेशका सभापति उद्धव थापाले वचन दिइसकेका छैनन्। महामन्त्रीद्वय भूपेन्द्र राई र उमेश थापा भेलामा आउने भने पक्कापक्की छ।

देउवा समूहको भेलालाई स्वाभाविक रूपमा लिइए पनि कोइराला-देउवा दुवै सम्मिलित भेलाले भने कांग्रेस संस्थापन पक्षलाई चुनौती दिएको छ। भेलाको आयोजक जिल्ला, नगर वा प्रदेशमध्ये कुन समिति हुने अन्योल नै रहे पनि मुख्य अतिथि शेखर कोइराला हुने टुंगो लागिसकेको छ।

सहभागिताका दृष्टिकोणले कोसीको भेला बढी चर्चामा छ, जहाँ निवर्तमान सभापति देउवानिकट मुख्य नेताहरूको बाहुल्य हुनेछ। कोइराला समूहका नेता कमै रहने उक्त भेलामा देउवाका विश्वासिला नेता कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छार र डा. शशांक कोइरालाको उपस्थिति हुने चापागाईं बताउँछन्।

कोइराला र देउवापक्षीय नेताको उपस्थितिमा हुन लागेको कार्यक्रमलाई ‘पार्टीभित्र बृहत्तर एकताका लागि कोसी प्रदेशस्तरीय भेला’ भनिएको छ। चापागाईं भन्छन्, “शशांक कोइरालालाई परिवारको लिगेसीका रूपमा र कृष्ण सिटौला तथा विजयकुमार गच्छदारलाई कोसी प्रदेशका ठूला नेता भएकाले बोलाइएको हो।” तर, देउवा समूहका नेता सिटौला, गच्छदार र शशांक मात्रै भेलाको सूचीमा छैनन्, एनपी साउद र मीन विश्वकर्मा समेत छन्। कोइराला समूहका नेता मीनेन्द्र रिजाल, राजीव कोइराला र केदार कार्की भेलामा पुग्दै छन्।

अद्यावधिक अवधि समाप्तिसँगै हुन लागेको भेलालाई अर्थपूर्ण रूपमा हेरिएको छ। कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलिया भन्छन्, “समूह भनौँ वा जो जो विशेष महाधिवेशनमा जानुभएको छैन, ती नेताहरूलाई एक ठाउँमा राखेर पार्टीभित्र बृहत्तर एकता गर्नुपर्छ भन्ने उद्देश्यले भेला राखिएको हो।”

फाइल तस्बिर।

कोइराला-देउवा दुवै पक्ष विशेष महाधिवेशनमा सहभागी थिएनन्। विशेष महाधिवेशनबाट निर्वाचित भएका सभापति थापा र दुवै समूहबीच संवादहीनता जारी छ। अझ, सदस्यता अद्यावधिकको प्रक्रिया सुरु भएपछि दूरी बढेको थियो। “संस्थापन पक्षसँग कुनै पनि किसिमको कुराकानी छैन, संवाद-वार्ताको प्रस्ताव छैन,” थपलिया भन्छन्, “अद्यावधिक नगरेको स्थितिमा के हुन्छ भन्ने पार्टी नेतृत्वले जान्ने कुरा हो।”

रक्षात्मक संस्थापन पक्ष

नेतृत्वसँग असहमति राख्दै आएका ‘हाई प्रोफाइल’ अनुहारले मोर्चा कसेपछि संस्थापन पक्ष दबाबमा परेको छ। पार्टीका पाका, अनुभवी र शीर्ष नेताहरू इतर समूहमा एकताबद्ध हुन थालेपछि संस्थापन पक्ष दबाबमा परेको हो। उनीहरू एक ठाउँमा उभिँदा संस्थापन पक्ष कमजोर देखिएको सन्देश पार्टीपंक्तिमा जाने चिन्ता संस्थापनलाई छ।

समय समाप्त हुन लाग्दा सदस्यता अद्यावधिक नगर्ने नेता-कार्यकर्ताप्रति संस्थापन पक्ष रक्षात्मक देखिएको छ। सदस्यता अद्यावधिक नगर्ने नेता-कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिइरहेको संस्थापन अहिले लचक बनेको हो। प्रवक्ता देवराज चालिसे भन्छन्, “पार्टीमा संवाद-वार्ता भइरहन्छ। अहिले नै के हुन्छ भनेर नकारात्मक टिप्पणी नगरौँ।”

इतर समूह अद्यावधिकमा छुटेसँगै संस्थापनले सातबुँदे प्रस्ताव निवर्तमान उपसभापति पूर्णबहादुर खड्का, कोइरालासहितका नेतालाई पठाइएको संस्थापनले दाबी गरेको थियो। ती प्रस्ताव के थिए भन्ने सार्वजनिक भएको छैन।

इतर समूह अद्यावधिकमा छुटेसँगै संस्थापनले सातबुँदे प्रस्ताव निवर्तमान उपसभापति पूर्णबहादुर खड्का, कोइरालासहितका नेतालाई पठाइएको संस्थापनले दाबी गरेको थियो। ती प्रस्ताव के थिए भन्ने सार्वजनिक भएको छैन। प्रस्तावमा पार्टी केन्द्रीय समिति, निर्वाचन समिति, अनुशासन समिति, क्रियाशील सदस्यता व्यवस्थापन समितिलगायतमा सबै पक्षलाई सहभागिता गराउने विषय समेटिएको संस्थापन पक्षको दाबी छ।

इतर समूहले भने संस्थापन पक्षले निवर्तमान उपसभापति पूर्णबहादुर खड्कालाई मात्रै सातबुँदे प्रस्ताव पठाएको दाबी गरेको छ। “उहाँलाई पठाएको प्रस्तावमा पनि सहमत हुने बिन्दु भेटिएन,” देउवा समूहका नेता विमलेन्द्र निधि भन्छन्, “म अद्यावधिक गर्दिनँ, ३० जेठमा मधेस र ३१ मा कोसी प्रदेशमा हाम्रो भेला हुँदै छ। त्यहाँ छलफल हुन्छ र त्यहीँबाट नेतृत्वलाई जवाफ दिन्छौँ।”

विशेष महाधिवेशनअघि कायम रहेको नवीकरण स्वीकार्य हुनुपर्नेमा उनको जोड छ। साथै, विशेष र १४औँ महाधिवेशनबाट निर्वाचित समितिलाई ‘मर्ज’ गरी पदाधिकारीसहित सदस्य मनोनयन गर्ने र क्रियाशील छानबिन, निर्वाचन तथा अनुशासन समिति सहमतिको आधारमा बनाउनेबाहेकका प्रस्तावमा सहमति नहुने उनी बताउँछन्। “यसो गरेर १५औँ नियमित महाधिवेशन गर्नुपर्छ, भ्रातृ संगठनमा समेत सहमति हुनुपर्छ। विधान संशोधन हुनुपर्छ। उहाँहरूले गरेको विधान संशोधनमा के छ, हामीलाई थाहा नै छैन,” निधि भन्छन्।

कोइरालाले पनि आफूलाई संस्थापन पक्षको कुनै प्रस्ताव नआएको बताएका छन्। “बाहिर हल्ला गरिएअनुसार संस्थापन पक्षले सहमतिका लागि सातबुँदे प्रस्ताव पठाएको अहिलेसम्म कहीँकतै जानकारीमा छैन,” कोइरालाको भनाइ उद्धृत गर्दै थपलिया भन्छन्, “यस्ता मनगढन्ते, कपोलकल्पित र भ्रामक सूचनाको भ्रममा कोही नपर्नुहोला।”

कांग्रेस विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनेपछि २२ चैत २०८२ मा महामन्त्री प्रदीप पौडेल र २२ वैशाख २०८३ मा सभापति थापाले विशालनगरस्थित सचिवालयमा कोइरालालाई भेटेपछि संस्थापन पक्षका कसैसँग संवाद र सम्पर्क नभएको उनको सचिवालयले जनाएको छ।