काठमाडौं। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विश्वकर्माले एसिया-प्यासिफिक एमेच्योर च्याम्पियनसिप खेल्ने भएका छन्।
दुबईस्थित इमिरेट्स गल्फ क्लबमा अक्टोबर २३ देखि २६ तारिखसम्म हुने च्याम्पियनसिपमा भाग लिन सोमबार दुबई प्रस्थान गर्ने राहुललाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे।
अमेरिकामा उच्च अध्ययनसँगै एनसीएए डिभिजन वान खेलिरहेका सदभाव त्यतैबाट दुबई जानेछन्। सदभाव र राहुल दुवैले प्रतियोगिताअघि दुई अभ्यास राउन्ड खेल्नेछन्। उक्त च्याम्पियनसिपमा एसिया-प्यासिफिक क्षेत्रका उत्कृष्ट एमेच्योर खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा नेपालको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी सुवास तामाङ हुन्। उनले २०२२ मा कट बनाएका थिए। उनीबाहेक अन्य नेपाली गल्फ खेलाडीले कट बनाउन सकेका छैनन्।
योपटक सदभावले अमेरिकाको अनुभव र राहुलले पनि भारतको तरूण सरदेशाई एकेडेमीमा प्रशिक्षण गरेर तयारी गरेकाले उत्कृष्ट नतिजाको अपेक्षा गरिएको नेपाल गल्फ संघले जनाएको छ। एसिया-प्यासिफिक एमेच्योर च्याम्पियनसिपको विजेताले द मास्टर्स प्रतियोगिता र द ओपन च्याम्पियनसिपमा स्थान पक्का गर्नेछन्।