काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

८ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेपाली सेनाले १२ राष्ट्रिय निकुञ्जसहित एक वन्यजन्तु अरक्षण र एक सिकार आरक्षमा जनशक्ति परिचालन गरेको छ।

नेपाल सरकारद्वारा घोषित राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिकार आरक्ष र चुरे क्षेत्र संरक्षणमा सेनाका नौ हजार ४६ जना जनशक्ति खटिँदै आएको युद्धकार्य निर्देशक मनोज थापाले जानकारी दिए।

सेनाका आठ गण, दुईवटा वन तथा पर्यावरण सुरक्षा गण र सात अनाश्रित गुल्मलाई संरक्षणको जिम्मेवारी तोकिएको छ। चालु आवमा विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणबाट ४२ नाल विभिन्न हतियार, एक हजार ९७६ जाल पासो, एक हजार ९६५ घरेलु औजार ३३५ वटा सवारीसाधन र १६ वटा आखेटोपहार बरामद गरेको उनले जानकारी दिए।

सेनाबाट भएको सुदृढ सुरक्षा तथा संरक्षण कार्यबाट पछिल्लो १५ वर्षयता बाघ तथा गैँडाको सङ्ख्यामा उल्लेख्य बढेका छन्।

पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ३५५ रहेको तथा गैँडाको संख्या ७५२ छ। यसअघि २००९ मा भएको जनगणनामा बाघको सङ्ख्या १२१ र २००५ को गणनामा गैँडाको सङ्ख्या ४०० थियो।

ती उपलब्धि हासिल गर्ने क्रममा वन्यजन्तुको आक्रमण र अन्य कारणबाट ११६ सैनिकले आफ्नो जीवन गुमाएका छन्। चालु आवमा मात्रै त्यस्ता जङ्गली जनावरको आक्रमणमा परी पाँचजना सकलदर्जा घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनाले नेपालका सुन्दर हिमालको सौन्दर्य कायम राख्न पछिल्लो दशकमा वार्षिक रुपमा हिमाल सफाइ अभियान पनि सञ्चालन गर्दै आएको छ।