हत्या अभियोगमा पोखरा महानगरपालिका ५, प्रर्स्याङका अन्दाजी २३ वर्षीय ईश्वर तिमिल्सिना प्रहरी नियन्त्रणमा
कास्की। पोखरामा सामान्य विवादमा आज (शनिबार) बिहान एक जनाको कुटपिटबाट मृत्यु भएको छ । पोखरा महानगरपालिका ५, प्रर्स्याङका ४५ वर्षीय अनिल पराजुलीको बिहान साढे ४ बजे हत्या भएको प्रहरीले जनाएको छ ।
हत्या अभियोगमा सोही ठाउँका अन्दाजी २३ वर्षीय ईश्वर तिमिल्सिनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार सामान्य विवादमा तिमिल्सिनाले पराजुलीलाई कुटपिट गरेका थिए ।
प्रहरीका अनुसार हत्या आरोपमा पक्राउ परेका तिमिल्सिनाको साथबाट चक्कु बरामद गरिएको छ ।
उनले भने, “प्रारम्भिक सोधपुछमा सामान्य विवादमा आक्रमण गरी हत्या गरिएको देखिएको छ, आक्रमणकारीलाई नियन्त्रणमा लिएका छौँ, घटनाको थप अनुसन्धान र सोधपुछ भइरहेको छ ।” पक्राउ परेका तिमिल्सिनाको साथबाट चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनलाई प्रहरीले घर नजिकैबाट नियन्त्रणमा लिएको थियो । पराजुलीको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।