काठमाडौं । गायिका नीतु पौडेलको पशुपति आर्यघाटमा शनिबार दिउँसो अन्त्येष्टि गरिएको छ ।
गत १ कात्तिकमा उनले अनामनगरमा रहेको गायक बाबुल गिरीको स्टुडियोमा गएर शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचारका क्रममा हिजो (शुक्रबार) बिहान मृत्यु भएको थियो। परिवारले उनको शव पोस्टमार्टमपछि शनिबार अन्त्येष्टि गरिएको हो।
मृत्युपछि नीतुका दाइ गणेश पौडेलले प्रहरी कार्यालयमा गायक गिरीविरुद्ध किटानी जाहेरी दिएका छन् । उनले आफ्नो बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएका हुन् ।
विगत ८-९ वर्षदेखि बहिनी नीतु र गायक गिरीबीच प्रेम सम्बन्धमा रहेको उनको दाबी छ । दुई जना मात्रै भएको कोठाभित्र आफ्नो बहिनीलाई जलाइएको दाबी उनको छ । उनले किन आत्मदाहको प्रयास गरिन् भन्नेबारे प्रहरीले अहिलेसम्म केही खुलाएको छैन । घटनाका विषयमा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।