काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

८ कार्तिक २०८२
अ+
अ-

महेन्द्रनगर। इजरायल-हमास युद्धमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा ‘विपिन चोक’ नामकरण गरिएको छ।

भीमदत्त नगरपालिका ३ स्थित मालिकार्जुन टोलमा शनिबार साँझ एक कार्यक्रम गरी ‘विपिन चोक’ नामाकरण गरिएको हो। कार्यक्रममा विपिनको सम्झनामा दीप प्रज्वलनसहित टोलको नामकरण गरिएको थियो।

कार्यक्रममा वडाध्यक्ष गगनसिंह धामीले विपिन वडाको पूर्वखेलाडीसमेत भएकाले उनको सम्झनामा प्रत्येक वर्ष वडास्तरीय क्रिकेट प्रतियोगितासमेत आयोजना गरिने घोषणा गरे। “साहसिक व्यक्तित्व जोशी सकुशल घर फर्किनेमा हामी दुई वर्षसम्म आशामा थियौँ, तर उहाँ आफू नरहेर साथीहरूको ज्यान जोगाउनुभयो। उहाँको सम्मानमा अब बन्ने वडा कार्यालयमा तस्बिर राख्ने र वडाबाट प्रतिनिधित्व गर्ने क्रिकेटका खेलाडीसमेत रहेकाले रहेक वर्ष प्रतियोगिता आयोजना गर्ने योजना बनाउने छौँ,” उनले भने।

वडाध्यक्ष धामीले हाल स्थानीय बासिन्दासहितको चाहनामा वडामा विपिन चोक नामकरण गरिएको र अब नगरपालिकाको कार्यपालिका बैठकबाट औपचारिक निर्णय गराउन पहल हुने बताए। दीप प्रज्वलन कार्यक्रममा विपिनकी बहिनी पुष्पा जोशीलगायत टोलवासीको उपस्थिति थियो।