काठमाडौं। माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सबै माओवादी र वामपन्थी शक्तिहरूलाई एउटै कम्युनिस्ट पार्टीको झण्डामुनि एकताबद्ध हुन विशेष अपील गरेका छन्।
मंगलबार बिहान वक्तव्य जारी गरी उनले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमा देखापरेका चुनौती हल गर्न देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको बताएका हुन्।
‘राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादीसहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत् अघि बढ्नु आजको आवश्यकता हो,’ प्रचण्डले भनेका छन्, ‘यस सत्यलाई आत्मसात् गर्दै, म देशका सबै माओवादी धारासहितका बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु ।’
उनले संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन पनि आह्वान गरेका छन् ।