इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा चोकस्थित मदन भण्डारी लोकमार्गमा दुर्घटनाग्रस्त भारतीय नम्बरको स्कारपियोबाट १०४ किलोभन्दा बढी गाँजा बरामद भएको छ।
सोमबार बिहान करिब १ः५५ बजे चतराबाट नडाहातर्फ आउँदै गरेको बीआर ३१ पी ६६५१ नम्बरको भारतीय स्कारपियो सडक छेउमा रहेको चिया पसलको टहरोमा ठोक्किएर दुर्घटनामा परेको थियो।
दुर्घटनाको सूचना प्राप्त भएपछि घटनास्थल पुगेको प्रहरी टोलीले गाडीको खानतलासी गर्दा चारवटा प्लास्टिकको बोरामा लुकाइछिपाइ राखिएको १०४ किलो ८५५ ग्राम गाँजा फेला पारेको जनाएको छ।
प्रहरीले बरामद गाँजा र स्कारपियोलाई इलाका प्रहरी कार्यालय सुनसरीमा राखेको छ। दुर्घटनालगत्तै चालक फरार भएकाले उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।