काठमाडौं। स्याङ्जामा चर्को आवाजमा मोटरसाइकल चलाएको निहुँमा कुटपिट गरिएका व्यक्तिको मृत्यु घटनामा आठ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा हरिनाश गाउँपालिका-५ का २२ वर्षीय सिजन थापा, २४ वर्षीय अनिल शाही ठकुरी, २० वर्षीय विवेक मानन्धर, १८ वर्षीय बादल विक, २३ वर्षीय गुरुप्रसाद लम्साल रहेका छन्।
यस्तै, सोही वडाका १६ वर्षीय आर्यन क्षेत्री, २३ वर्षीय विश्वास वाग्ले र वडा नम्बर ६ का २२ वर्षीय निशान थापा रहेको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले बताए।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय वालिङ र मातहतबाट खटिएको टोलीले स्याङ्जाका विभिन्न स्थानबाट पक्राउ गरेको चौधरीले बताए।
७ भदौको राति ११ बजे वालिङ नगरपालिका-५ जर्कोटमा मोटरसाइकल चर्को आवाजमा चलाएको आरोपमा वादविवाद हुँदा सोही ठाउँका ३२ वर्षीय ढालबहादुर थापामाथि कुटपिट भएको थियो। थापालाई गण्डकी मेडिकल कलेज पोखरामा उपचारको लागि पठाइएकोमा ८ भदौ बिहान मृत्यु भएको थियो।
पक्राउ परेका आठ जना व्यक्ति सोही वडामा भलिबल खेलेर फर्किरहेका थिए। खेल सकिएपछि मदिरा सेवन गरेर फर्किँदै गरेका उनीहरूले चर्को आवाजमा मोटरसाइकल चलाएको भन्दै थापालाई रोकेका थिए।
त्यसपछि विवाद हुँदा उनीमाथि कुटपिट भएको थियो। पक्राउ परेकालाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको चौधरीले बताए।