काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ कार्तिक २०८२
फाइल तस्बिर। मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित तिलिचो बेसक्याम्पबाट फर्कँदै गरेका पदयात्री। तस्बिर : नवीन लामिछाने/रासस
अ+
अ-

म्याग्दी। निरन्तर हिमपातका कारण धौलागिरि चक्रीय पदमार्गको ‘हिडन भ्याली’मा आन्तरिक र बाह्य गरेर १५ जना पर्यटक समस्यामा परेका छन्। तीमध्ये तीन बेलायती महिला र १२ जना स्वदेशी पर्यटक रहेका छन्।

म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा जाने क्रममा सोमबार रातिदेखि भएको निरन्तर हिमपातले पदमार्ग पुरिएपछि १२ नेपाली र तीन जना बेलायती पर्यटकहरू रोकिएका हुन्। धौलागिरि र सीता हिमालका बीचमा समुद्री सतहदेखि पाँच हजार १०० मिटर उचाइमा रहेको हिडन भ्यालीमा बास बसेका उनीहरू सुरक्षित रहेका म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिए।

“काठमाडौँको सेक्रेट हिमालय ट्रेड एन्ड एक्पिडिसन ट्राभल एजेन्सीमार्फत पदयात्रामा गएका बेलायती पर्यटकले हिँड्न गाह्रो पर्ने भएकाले मंगलबार साँझ सम्बन्धित कम्पनीमार्फत हेलिकोप्टरबाट उद्धारको व्यवस्था मिलाउन अनुरोध गरेका थिए,” उनले भने, “बुधबार बिहानसम्म सम्पर्कमा रहेका उनीहरू सकुशल छन्।”

म्याग्दी र मुस्ताङको जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायमार्फत उद्धार टोली पठाउने प्रयास गरे पनि हिउँ पर्न नरोकिएकाले समस्या भएको छ। हिउँ पर्न रोकिएर मौसम सफा भएपछि स्थल र हवाई मार्गबाट हिडन भ्याली पुग्न सकिन्छ।

उनीहरू रहेका स्थानमा होटल र घर छैन। सेक्रेट हिमालय ट्रेड एन्ड एक्सपिडिसनका व्यवस्थापक विनय लामाका अनुसार बेलायती नागरिकत्रय म्यारी रिप्पे, क्यारिराइन विल्सन र इमिल्ली क्याट्स हिडन भ्यालीमा छन्।

पथप्रर्दशकले स्याटेलाइट फोनमार्फत उद्धारको अनुरोध गरेका व्यवस्थापक लामाले बताए।