काठमाडौं। एनसेलले गएको १० दिनमा देशका विभिन्न स्थानमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ। अब ती स्थानका ग्राहकले एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्नेछन्।
सेवा विस्तार र गुणस्तर सुधार अभियानअन्तर्गत एनसेलले मधेस, बागमती र कोसी प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा थप टावर सञ्चालनमा ल्याएको हो। नयाँ टावर सञ्चालनले ती क्षेत्रका ग्राहकलाई अझ सुधारिएको नेटवर्क र फोरजीको गतिमा पहुँच सुनिश्चित गरेको छ। एनसेलले मधेस प्रदेशमा १३ नयाँ टावर सञ्चालनमा ल्याएको छ। बाराको परवानीपुर, पर्साको पकहाँ मैनपुर, पोखरिया र वीरगन्ज, सप्तरीको बलान बिहुल, धनुषाको जनकपुर, कटैया, कमला र विदेह, सर्लाहीको कौडेना र मोतीपुर र रौतहटको यमुनामाई र माधवनारायणमा गरी १३ वटा नयाँ टावर सञ्चालनमा ल्याएको एनसेलले बताएको छ।
कोसी प्रदेशमा सुनसरीको इनरुवा, बर्जु, हरिनगर र गढीमा चार र मोरङको बबियाबिर्ता र मजारेमा दुई गरी ६ वटा नयाँ टावर सञ्चालनमा आएका छन् । बागमती प्रदेशको हेटौँडा (मकवानपुर)मा एउटा टावर जडान गरी सञ्चालनमा ल्याइएको छ।
“नेपालको डिजिटल कनेक्टिभिटी विस्तार गर्ने प्रतिबद्धताअनुरूप फोरजी नेटवर्कलाई विस्तार र सुदृढ बनाइरहेका छौँ। नयाँ टावर सञ्चालनमा आएपछि आधुनिक मोबाइल ब्रोडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवामा अझ व्यापक पहुँच सुनिश्चित भएको छ। यो विस्तार तथा सुधारले फोरजी नेटवर्कलाई अझ सुदृढ बनाउने र देशभरका आमग्राहकलाई भरपर्दो मोबाइल सेवामा पहुँच सुधार गर्ने हाम्रो निरन्तरको प्रतिबद्धतालाई प्रस्ट पारेको छ,” एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने ।
नयाँ टावरका लागि उपकरण आयातमा बन्देजका बेलामा पनि एनसेलले देशका विभिन्न भागमा आफ्ना पुराना उपकरणहरुको प्रयोग गर्दै टावर जडान तथा सञ्चालन गरेर सेवा विस्तार र सुधार गरेको बताएको थियो।
फोरजी सेवा विस्तार र सुधार योजनाअनुसार एनसेलले अबको दुई महिनाभित्र देशका सबै प्रदेश समेटिने गरी थप १७० भन्दा बढी नयाँ टावर जडानका लागि काम गरिरहेको जनाएको छ।