दाङ। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जेनजी प्रदर्शनका क्रममा घुसपैठ भएर न्यायालय र प्रहरी प्रशासनमाथि आक्रमण भएको बताएका छन्।
प्रेस चौतारी नेपाल दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले न्यायालयमाथिको आक्रमणलाई गम्भीर घटना भन्दै निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरे। उनका अनुसार, न्यायालय र प्रहरीमाथि प्रहार गर्नु भनेको देशको कानुनी प्रणालीमाथि षड्यन्त्रपूर्ण आक्रमण हो।
“जेनजी प्रदर्शनका क्रममा उठाइएका मागहरू जायज छन्,” पोखरेलले भने, “तर स्वार्थी तत्वहरूले आन्दोलनमा घुसपैठ गरेर इतिहास मेटाउने प्रयास गरे।” उनले युवाको मागलाई सम्बोधन गर्न सबै दल सकारात्मक हुनुपर्ने आवश्यकता औँल्याउँदै, सुशासन र कानुनी राज्य कायम गर्न सहकार्य र समन्वय आवश्यक रहेको बताए।
महासचिव पोखरेलले प्रदर्शन दबाउन प्रहरी र न्यायालयको कुनै भूमिका नभएको स्पष्ट पारे। उनका अनुसार, न्याय प्रणालीलाई कमजोर बनाएर देशलाई अस्थिर बनाउने प्रयास भइरहेको छ।
उनले थपे, “प्रदर्शनका नाममा प्रहरीका हतियार लुटिनु, कैदीबन्दी बाहिर आउनु र सार्वजनिक सम्पत्तिमा तोडफोड हुनुजस्ता गतिविधिले आम नागरिकमा भय र त्रास फैलाएको छ।”
पोखरेलका अनुसार, स्थानीय तह, अदालत, यातायात, राजस्व कार्यालयलगायतका सरकारी तथा निजी सम्पत्तिमा क्षति पुगेको छ। उनले गत भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग पनि गरे।
कार्यक्रम प्रेस चौतारी नेपाल दाङ शाखाका अध्यक्ष शुधासुमन ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव निमुसङ्गम घर्तीले सञ्चालन गरेका थिए।