काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

१३ कार्तिक २०८२
तस्बिर : क्यान
अ+
अ-

काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल घरेलु टोली यूएईसँग पराजित भएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल यूएईसँग पाँच विकेटले पराजित भएको हो।

नेपालले प्रस्तुत गरेको २३४ रनको लक्ष्य यूएईले ४३ ओभर ३ बलमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो।

यूएईका लागि आर्यन्श शर्माले ९८ बलमा १० चौका र तीन छक्काको मद्दतले सर्वाधिक ९८ रन बनाए। त्यसैगरी अलिसान सराफुले ४५, मोहम्मद वासिमले २६, ध्रुव परासरले अविजित १६, कप्तान राहुल चोपाराले १५, हर्षित कौशिकले १३ र जाहिद अलीले अविजित ११ रन बनाए।

नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिँदा करण केसी र दीपेन्द्रसिंह ऐरीले समान एक एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले १३० बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक १०९ रनको योगदान गरे। यसैगरी आसिफ शेखले ३५, आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३ तथा करण केसीले १३ रन बनाए।

यूएईका लागि जाहिद अलीले चार विकेट लिए भने जुनैद सिद्धिकीले तीन तथा मोहम्मद रोहिद र हैदर अलीले समान एक/एक विकेट लिए।

जारी शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो। यसअघि भएको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो। यस हारसँगै १८ खेलमा १२ अंक जोडेको नेपाल सातौँ स्थानमा छ। त्यस्तै यस जितसँगै यूएई समान खेलबाट आठ अंकका साथ अन्तिम स्थानमा छ।