५०० र १००० रुपैयाँका नोट राख्न, बेच्न वा ओसारपसार गर्न पूर्ण प्रतिबन्ध
काठमाडौँ। नेपाल राष्ट्र बैंकले भारतमा नोटबन्दी हुनु अघि चलनचल्तीमा रहेका ५०० र १००० भारतीय रुपैयाँका नोटको कारोबार नगर्न सर्वसाधारणलाई सचेत गराएको छ।
मंगलबार जारी सूचनामा बैंकले ती नोट राख्न, बेच्न वा ओसारपसार गर्न पूर्ण रूपमा प्रतिबन्धित रहेको स्पष्ट पारेको छ। सन् २०१६ नोभेम्बर ९ मा भारतले नोटबन्दी घोषणा गर्दै पुराना ५०० र १००० रुपैयाँका नोटमा प्रतिबन्ध लगाएको थियो।
नेपाल राष्ट्र बैंकले नेपाली नागरिकलाई भारतबाहेक अन्य मुलुकबाट पनि यी नोट ल्याउन नपाइने कुरा स्पष्ट पारेको छ। साथै, कुनै पनि नेपाली वा विदेशी नागरिकले ५ हजार अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा बिना भन्सार घोषणा नेपाल भित्र्याउन नपाउने व्यवस्था रहेको छ।
यदि सो भन्दा बढी ल्याउनु परेमा अनिवार्य रूपमा भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्ने नियम पनि बैंकले सम्झाएको छ।