काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१५ कार्तिक २०८२
अ+
अ-

गोरखा। मनास्लु क्षेत्र भ्रमणका क्रममा भिरबाट खसेको ढुंगा लागेर सख्त घाइते भएका पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

चुमनुब्री गाउँपालिका १, सामागाउँबाट फर्कँदा ढुंगाले टाउकोमा लागेर बिहीबार घाइते भएका झापाका मिनुइन्द्र लम्सालको तीन दिनपछि (शनिबार) उद्धार गरिएको हो।

प्रतिकूल मौसमका कारण हेलिकोप्टर जान नसकेर उद्धारमा ढिलाइ भएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए। घाइतेलाई शनिबार दिउँसो सिम्रिक एयरको हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ पठाएको उनले जानकारी दिए।

टाउकोमा गहिरो चोट लागेका लम्सालको बिही स्वास्थ्यचौकीमा प्राथमिक उपचार गरिएको थियो। सामागाउँबाट फर्कँने क्रममा चुमनुब्री ४, बुरनजिकैको पहिरोमा बिहीबार भिरबाट खसेको ढुंगाले टाउकोमा लागेर ४४ वर्षीय लम्साल घाइते भएका थिए।

उनीसँगै विशाल लम्साल र दीपेन्द्र न्यौपाने पनि रहेकामा दुवैजना सकुशल रहेको प्रमुख प्रशासकीय अधिकृत लामिछानेले जानकारी दिए।