काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१७ कार्तिक २०८२
सर्वोच्च अदालत। तस्बिर : विक्रम राई
अ+
अ-

काठमाडौँ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित दुई न्यायाधीश सपना प्रधान मल्ल र विनोद शर्मा तथा मुख्य रजिस्ट्रार विमल पौडेल बाङ्लादेशको सर्वोच्च अदालतको अवलोकन भ्रमणमा रहेकै बेला सर्वोच्च अदालतका अरू न्यायाधीश पनि देशबाहिर रहेको खुलेको छ। सर्वोच्चका न्यायाधीश कुमार रेग्मी नेतृत्वको टोली सोमबार ल्हासा पुगेको छ।

प्रधानन्यायाधीश राउत र वरिष्ठतम् न्यायाधीश मल्लको अनुपस्थितिमा कायममुकायम दिइएका रेग्मीको ल्हासा पुगेको टोलीमा किरणकुमार पोखरेल, दिनेश यादव, तीर्था श्रेष्ठ, हेमन्त रावललगायत छन्। सर्वोच्चकै अर्का तीन न्यायाधीश नहकुल सुवेदी, नित्यानन्द पाण्डे र बालकृष्ण ढकाल पनि चीनको बेइजिङमा छन्।

यो पनि पढ्नुहोस् :

आफ्नो अदालत खरानीमै छाडेर बाङ्लादेश सफरमा प्रधानन्यायाधीशको टोली

२४ भदौमा भएको जेन-जी आन्दोलनकारीको निसानामा जलेर तहसनहस सर्वोच्च अदालतले भर्खरै पाल टाँगेर आफ्नो काम सुरु गरेको छ। जलेरै ध्वस्त जिल्ला अदालत, काठमाडौँ पनि अरूकै भवनबाट सेवा दिन बाध्य छ। यो आन्दोलनमा सर्वोच्चसँगै देशभरका २३ वटा अदालतमा आगजनी भएको छ। आगजनीबाट सर्वोच्चमा नौ लाख ३३ हजार ८२३ वटा मुद्दाका मिसिल र अन्य अदालतमा सात लाख ६ हजार ७१ थान मुद्दाका मिसिल जलेर नष्ट भएको छ। अदालत परिसरमा भएका ४२२ वटा सवारीसाधन पनि जलेका छन्। आन्दोलनबाट उच्च अदालत तुलसीपुर, उच्च अदालत बुटवल र उच्च अदालत पाटनको हेटौँडा इजलासको भवन पनि नष्ट भएको छ।

तर यस्तो बेला न्यायालयकै नेतृत्वकर्तासहित न्यायाधीशहरूको टोली विदेश सयरमा जानु अशोभनीय मात्र नभई, गैरसंवैधानिक भएको भन्दै आलोचना भइरहेको छ। नेपालको संविधानको धारा १२९ को उपधारा ६ बमोजिम प्रधानन्यायाधीशको अनुपस्थितिमा वरिष्ठतम् न्यायाधीशले कायममुकायम पाउने भनिएको छ। वरिष्ठतम् न्यायाधीशबाहेक अरूलाई कायममुकायम दिने कल्पना संविधानले गरेको छैन। तर दुवैजना एकसाथ देशबाहिर जाँदा न्यायालयमा शून्यता आएको छ।