काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ कार्तिक २०८२
अ+
अ-

पाल्पा। पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहलमा लगाएको रंग उडेर भित्तामा लेउ लाग्न थालेको छ।

रानीमहलको व्यवस्थापनमा तानसेन नगरपालिकाले वेवास्ता गर्दा यहाँको सरसफाइ भएको छैन भने भवनको रंगरोगन उडेको छ।

तानसेन नगरपालिकाले प्रवेश शुल्क उठाउने गर्छ भने पार्किङ शुल्क बगनासकाली गाउँपालिकाले उठाउँदै आएको छ। तानसेन नगरपालिकाले गत साउनदेखि कार्तिक १२ गतेसम्म १३ लाख ७० हजार ३ सय राजस्व संकलन गरेको छ।

घुम्न जाने पर्यटक रानीमहल भित्रै बसेको, प्रहरीले कपडा सुकाएर अशोभनीय कार्य गरेको, फोहोर सफा नगरेको गुनासो स्थानीयले गरेका छन्।
२०७५ साउनमा पुरातत्व विभागले १० वर्षका लागि तानसेन नगरपालिकालाई रानीमहल हस्तान्तरण गरेको छ। दैनिक कम्तीमा ३ सय पर्यटकले रानीमहलको अवलोकन गर्ने गरेको तानसेन नगरपालिकाले जनाएको छ।

वर्षायामपछि रानीमहलमा कालो धब्बा देखिँदै आएको तर विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले रंगरोगन गर्न ढिलाई भएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिए।

वि.सं. १९५० मा निर्माण सुरु भएर १९५४ मा निर्मांण कार्य सम्पन्न भएको ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीमहललाई प्रेमका प्रतिकका रुपमा चिनिन्छ। तत्कालिन जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा कालीगण्डकीको तटमा युनानी शैलीमा रानीमहल दलबार निर्माण गरेका हुन्।