काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) का मालिकहरूले टोली बिक्री गर्ने तयारी गरेका छन्। यो फ्रेन्चाइजको मूल्यांकन करिब दुई अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ।
ब्लुमबर्ग न्युजका अनुसार, टोलीका मालिकहरू अहिले ‘क्लबको केही हिस्सा वा सम्पूर्ण स्वामित्व बिक्री गर्ने सम्भावनाबारे विचार गर्दै’ दुई अर्ब डलरसम्मको मूल्यांकन लक्ष्य राखिरहेका छन्।
पेय पदार्थ कम्पनी डियाजियोको भारतीय शाखा युनाइटेड स्पिरिट्स लिमिटेड (यूएसएल) ले मुम्बई स्टक एक्सचेन्जमा दर्ता गराएको विवरणमा पनि आरसीबीमा गरेको लगानीको ‘रणनीतिक समीक्षा’ सुरु भएको जनाएको छ। यूएसएलका प्रमुख कार्यकारी अधिकृत प्रवीण सोमेश्वरले बुधबार पठाएको पत्रमा आरसीबीलाई ‘एक मूल्यवान र रणनीतिक सम्पत्ति’ भनेका छन्। तथापि, उनले यसलाई आफ्नो मुख्य अल्कोबेभ व्यवसायसँग प्रत्यक्ष रूपमा सम्बन्धित नभएका कारण समीक्षा आवश्यक भएको बताए। “यो निर्णयले यूएसएल र डियाजियो दुवैको भारतस्थित व्यवसायिक पोर्टफोलियोको समीक्षा र सुदृढीकरणप्रति प्रतिबद्धता झल्काउँछ,” सोमेश्वरले भने, “हामी आरसीबी र त्यससँग सम्बन्धित सम्पूर्ण हितलाई प्राथमिकतामा राख्नेछौँ।”
पुरुष तथा महिला दुवै टोलीका स्वामित्व सम्हाल्ने रोयल च्यालेन्जर्स स्पोर्ट्स प्राइभेट लिमिटेडसम्मको समीक्षा हुने र आगामी वर्षको मार्चसम्ममा यसको निष्कर्ष आउने अपेक्षा गरिएको छ।
सन् २००८ बाट सुरु भएको आईपीएलमा आरसीबीले पहिलोपटक गत जुन महिनामा उपाधि जितेको थियो।