२० कार्तिक २०८२
अ+
अ-

दोहा। राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर आज (बिहीबार) स्वदेश फर्किएका छन्।

उनलाई यहाँस्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल र कतारको विदेश मन्त्रालय एवं नेपाली दूतावासका उच्च अधिकारीले बिदाइ गरेका थिए। कतारका अमिर सेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार यहाँ दोहा पुगेका थिए।

उनले संयुक्त राष्ट्रसंघको महासभाको निर्णयअनुसार दोहामा भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई मंगलबार सम्बोधन गरे। साथै उनले सम्मेलनअन्तर्गत आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण : गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

राष्ट्रपति पौडेलले मंगलबारै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गरेका थिए। पौडेलले बुधबार कतार राष्ट्रिय सङ्ग्रहालयको पनि अवलोकन गरेका थिए।

यसअघि ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो। सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसंख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल भएको थियो।

संयुक्त राष्ट्रसंघको सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रही आएको छ। राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष छ। सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल पत्नी सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दोहा गएका थिए।