२० कार्तिक २०८२
अ+
अ-

काठमाडौं। कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताए योङ्गले भेटवार्ता गरेका छन्।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार भएको भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, पर्यटन सहकार्य, श्रम तथा रोजगार, पूर्वाधार विकास, ऊर्जा, लगानी तथा जनस्तरको सम्बन्ध लगायतका विषयमा छलफल भएको थियो।

कार्यवाहक राष्ट्रपति यादवले हालै सम्पन्न ‘जेनजी आन्दोलन’ को पृष्ठभूमिमा नेपालमा नयाँ सरकार गठन भइसकेको उल्लेख गर्दै लोकतान्त्रिक यात्राप्रति नेपालको प्रतिबद्धता दोहोर्याए। उनले आगामी २१ फागुन २०८२ मा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार रहेको बताएको कार्यवाहक राष्ट्रपतिका प्रेस संयोजक दिनेश यादवले जानकारी दिए।

कार्यवाहक राष्ट्रपति यादवले नेपाल-कोरिया सम्बन्धको ५०औं वार्षिकोत्सव सफलतापूर्वक मनाइएको स्मरण गर्दै दुई देशबीचको सम्बन्ध मैत्रीपूर्ण, आपसी सम्मान र समझदारीमा आधारित रहेको बताए। कोरियाली सहयोगले नेपालको सामाजिक-आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनले आगामी दिनमा सहकार्यलाई अझ गहन बनाउने प्रतिबद्धता पनि जनाए।

कार्यवाहक राष्ट्रपति यादवले कोरियाली सरकारप्रति ईपीएस कार्यक्रममार्फत नेपाली युवालाई रोजगारीको अवसर उपलब्ध गराएकामा धन्यवाद व्यक्त गर्दै कोरियासँगको सम्बन्धलाई नेपालले उच्च प्राथमिकता दिँदै आएको स्पष्ट पारे। उनले कोरियाली पर्यटकको नेपालप्रतिको आकर्षण, विशेषतः पदयात्रा र पर्वतारोहणजस्ता क्षेत्रमा, उल्लेखनीय रहेको बताउँदै धार्मिक र सांस्कृतिक समानताले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको धारणा व्यक्त गरे।

भेटमा राजदूत पार्कले नेपालप्रति कोरियाली सरकारको सद्भाव, सहयोग र मित्रता निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे। उनले जेन-जीको मागबमोजिम बनेको नेपाल सरकारलाई कोरियाको समर्थन रहेको उल्लेख गर्दै अगामी चुनावका लागि सहयोग र शुभकामना व्यक्त गरे।

“विगत ३० वर्षदेखि कोरियाले नेपालको शिक्षा, कृषि, आईटीको क्षेत्रमा सहयोग गर्दै आएको छ‚” राजदूत पार्कले भने‚ “रोजगारको सिलसिलामा कोरिया जाने नेपालीको संख्या बढाउन आफ्नो मुलुकको तयारी छ।” उनले धेरै कोरियाली कम्पनी नेपाल आउन इच्छुक रहेको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सशक्त बनाउने दिशामा कोरियाली पक्षबाट आवश्यक सहयोग जारी रहने प्रतिबद्धता जनाएका थिए।