काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

पत्रकारको हत्या अस्वीकार्य भएको मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयको भनाइ

११ भाद्र २०८२
तस्बिर : अल जजीरा
अ+
अ-

काठमाडौं। मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले गाजापट्टीमा पत्रकारहरूको हत्या विश्वलाई स्तब्ध पार्ने घटना भएको बताएको छ। ओएचसीएचआरले जवाफदेहिता तथा न्यायको माग गर्दै तुरुन्त कारबाही गर्न पनि जोड दिएको छ।

ओएचसीएचआरका प्रवक्ता थमिन अल–खितानले इजरायली कब्जा बलले खान युनुसस्थित नासेर अस्पतालमा छोटो अवधिमा दुई पटक हवाई आक्रमण गरेको बताए। सोमबार नासेर अस्पतालमा भएको हवाई आक्रमणमा पत्रकारहरूको हत्यासम्बन्धी प्रश्नको उत्तर दिँदै उनले भने, “हामीलाई थाहा छ कि पाँच पत्रकारमध्ये एक जना पहिलो आक्रमणमा मारिएका देखिन्छन् भने महिला पत्रकारसहित अन्य तीन जना दोस्रो आक्रमणमा मारिएका छन्। यो अत्यन्तै धक्का दिने र अस्वीकार्य घटना हो।”

उनले भने, “सन् २०२३ अक्टोबर ७ देखि गाजामा कम्तीमा दुई सय ४७ प्यालेस्टिनी पत्रकारले ज्यान गुमाइसकेका छन्। यी पत्रकारहरू विश्वका आँखा र कान हुन्, उनीहरू सुरक्षित हुनुपर्छ।”

अल–खितानले अस्पतालहरूलाई लक्षित गरेजस्तै पत्रकारहरूलाई लक्षित गर्नु अन्तर्राष्ट्रिय मान्यताअनुसार निषेधित भएको प्रस्ट पारे। साथै उनले इजरायली कब्जा अधिकारीहरूले यी घटनाको अनुसन्धान गर्ने घोषणा गरे पनि ‘ती अनुसन्धानले परिणाम दिनुपर्ने र न्याय हुनुपर्ने’ भन्दै अहिलेसम्म कुनै ठोस परिणाम वा जवाफदेहिताका उपाय नदेखिएको बताए।

ओएचसीएचआरका प्रवक्ताले अझैसम्म विश्वले यी हत्याबारे कुनै ठोस नतिजा वा जवाफदेहिताका कदमहरू नदेखेको र अनुसन्धानका प्रतिवेदनहरू सार्वजनिक नभएको तथ्य पनि उजागर गरे।