काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

११ भाद्र २०८२
अ+
अ-

काठमाडौं। साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल बाङ्लादेशसँग पराजित भएको छ। बाङ्लादेशसँगको दोस्रो हारसँगै नेपाल साफ महिला यू–१७ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ।

नेपालले ४ खेलबाट ३ अङ्क मात्रै जोड्न सफल भयो। नेपाल पहिलो खेलमा भारतसँग ८–० ले पराजित भएको थियो। नेपालले भुटानसँग २–१ गोल अन्तरको जित निकालेको थियो भने बाङ्लादेशसँग ३–० गोलले पराजित भएको थियो।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा आज सम्पन्न खेलमा नेपाल बाङ्लादेशसँग ४–१ गोलले पराजित भएको हो। बाङ्लादेशलाई जित दिलाउन सौरभी अखण्ड प्रितीले ह्याट्रिक गर्दा र थुनुए मार्माले एक गोल थपिन्। नेपालका लागि कप्तान भूमिका बुढाथोकीले एक गोल फर्काइन्।

खेलको ३८ मिनेटमा थुनुएको गोलमार्फत बाङ्लादेशले पहिलो अग्रता लियो। खेलको ४४ औं मिनेटमा प्रितीले टोलीको अग्रता दोब्बर बनाइन्। पहिलो हाफको इन्जुरी समयमा भूमिकाले नेपालका लागि गोल फर्काइन्। खेलको ७१ औं मिनेटमा प्रितीले दोस्रो गोल गरिन्। प्रितीले खेलको ८६ औं मिनेटमा ह्याट्रिक पूरा गरिन्। जितसँगै बाङ्लादेशले ४ खेलबाट ९ अङ्क पुर्‍याएको छ। एक खेल कम खेलेको भारतको पनि समान ९ अङ्क छ।