काठमाडौँ। काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि इरानले जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा शुक्रबार भएको फाइनलमा काजकिस्तानलाई ३-१ को सेटमा पराजित गर्दै इरानले उपाधि जितेको हो।
पहिलो सेट २५-१८ ले आफ्नो पक्षमा पारेको इरानले दोस्रो सेट १९-२५ ले गुमाएको थियो। तर त्यसपछिका दुई सेट २५-१५, २५-२१ ले आफ्नो पक्षमा पार्दै इरान च्याम्पियन बन्यो।
त्यसअघि शुक्रबार नै तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग ३-१ को सेटमा पराजित भयो। खेलमा भारतले पहिलो र दोस्रो सेट २५-२३ र २५-२२ ले आफ्नो पक्षमा पारेको थियो। तेस्रो सेटमा नेपालले २५-१५ ले आफ्नो पक्षमा पारेपछि चौथो सेट भारतले २५-२२ ले आफ्नो पक्षमा पार्दै तेस्रो स्थान हासिल गर्यो। नेपाल चौथोमै सीमित रह्यो।