त्यो काण्ड
नेपालमा प्रजातन्त्र आएको दुई महिना नबित्दै नारायणहिटी दरबारभित्र युवराज महेन्द्रको कोठामा चोरी
चैत २००७ को अन्तिम साता युवराज महेन्द्र छोराछोरीसहित भारत, दार्जिलिङको भ्रमणमा निस्किएका थिए। घुमघामसँगै उनको उद्देश्य थियो, छोराछोरीलाई दार्जिलिङको स्कुलमा भर्ना गराउने।
महेन्द्र देशबाहिर भएको बेला नेपालमा भने उनको कोठामा चोर पस्यो। सुनलगायत बहुमूल्य वस्तु र नगद चोरी भयो। नेपालको इतिहासमा राजदरबारमा भएको यस्तो पहिलो घटना थियो, जसको रिपोर्ट प्रहरीमा दर्ता भयो।
कोलकाता हुँदै दार्जिलिङ पुगेका महेन्द्र सामान्य होटलमा बसेका थिए। नेपालका युवराजको त्यो अवस्था देखेर दार्जिलिङमा बसोबास गर्ने नेपालीहरूले उनलाई राम्रो होटलमा बस्न आग्रह गरे। महेन्द्रको भनाइ थियो– राजपरिवार भनेर के गर्नु? सबै पैसा राणाहरूले लिएर गए। हामीसँग के नै छ र!
दार्जिलिङबाट फर्किएलगत्तै महेन्द्रले नारायणहिटी दरबारभित्र रहेको आफ्नो कोठाबाट बहुमूल्य वस्तु र नगद चोरी भएको थाहा पाए।
त्यतिबेला दार्जिलिङको सबैभन्दा राम्रो होटलको परिचय बनाएको थियो, माउन्ट एभरेस्ट होटलले। त्यसैको मुनि सामान्य मानिसहरूलाई लक्षित गरेर अर्को होटल खोलिएको थियो, स्विस होटल। महेन्द्र त्यही होटलमा बसेका थिए।
नेपालका युवराज आएको थाहा पाएका एक नेपाली, सन्तवीर लामा सुखिया पोखरीबाट महेन्द्रलाई भेट्न दार्जिलिङ पुगे। नेपालका भावी राजा एउटा सामान्य होटलमा बसेको देखेपछि सन्तवीरले चित्त नबुझेर भनेछन्, ‘सरकार, यो त मिलेन नि?’
त्यसबेला महेन्द्रले बुवालाई दिएको जवाफ सम्झँदै सन्तवीरका छोरा वसन्त लामा भन्छन्, “महेन्द्रले उल्टै बुवालाई सोध्नुभयो– के मिलेन?”
द स्टोरी अफ दार्जिलिङ पुस्तकका लेखक तथा प्राध्यापक वसन्त नेपाल न्युजसँगको कुराकानीमा भन्छन्, “महेन्द्रले आफ्नो दुःख बयान गर्दै भन्नुभयो– हामी (दरबार)सँग पैसा कहाँ छ?”
युवराजको त्यो कुरा सुनेपछि सन्तवीरले भनेका थिए, ‘जनतासँग छ नि।’
वसन्तका अनुसार नेपालका युवराज सानो होटलमा बस्दा दार्जिलिङमा भएका अन्य देशका नागरिकले नेपालीहरूलाई हेप्न नयाँ मुद्दा पाउने कुरामा सन्तवीर चनाखो थिए। त्यसैले बुवाले राजालाई ठूलो होटलमा बस्न मनाएको उनको भनाइ छ। “पहिले महेन्द्र माउन्ट एभरेस्ट होटलमा बस्न मान्नुभएको थिएन। तर, बुवाले नेपालीहरूको इज्जतको पनि कुरा छ भनेपछि उहाँ स्विस होटलबाट सर्नुभयो,” उनी सम्झन्छन्।
युवराज महेन्द्र करिब दुई साता दार्जिलिङ बसेका थिए। त्यतिबेला उनीसँग नेपाल र नेपालीभाषीका थुप्रै संघसंस्थाका सदस्यहरूले भेटघाट गरे।
तर, दार्जिलिङबाट फर्किएलगत्तै महेन्द्रले नारायणहिटी दरबारभित्र रहेको आफ्नो कोठाबाट बहुमूल्य वस्तु र नगद चोरी भएको थाहा पाए।
प्रहरीलाई यस कुराको जानकारी दिएको एक सातापछि चोरको सुराक पत्ता लागेको थियो। त्यसबेला नेपाल पुलिस (तत्कालीन मुक्ति सेना)का आईजीपी थिए, नरशमशेर राणा। नातामा युवराज महेन्द्रका मामा।
नरशमशेर श्री ३ महाराज जुद्धशमशेर राणाका जेठा नाति हुन्। त्यसैले उनलाई जन्मिनेबित्तिकै जर्नेलको पद बकस भएको थियो। जुद्धको शासनकालमा चार जना सहिदलाई मार्न उनैलाई खटाइएको थियो।
राणाशासनको अन्त्यपछि राजा त्रिभुवन दरबारको सम्पूर्ण सुरक्षा आफ्नो हातमा चाहन्थे। त्यसैले उनले नरशमशेरलाई आर्मी प्रमुखको जिम्मेवारी दिन चाहेका थिए।
२००७ सालमा प्रजातन्त्र स्थापनापछि देशमा शान्तिसुरक्षाको माहोल बिग्रिँदै गयो। यसपछि गणेशमान सिंहको सिफारिसमा नरशमशेरलाई नेपाल पुलिसको आईजीपी नियुक्त गरिएको थियो।
दरबारमा चोरी भएको उजुरी परेको एक सातापछि पाटन निवासी दशलाल ज्यापूको घरबाट करिब नौ लाख रुपैयाँ बराबरको जबाहरात र नगद १७ हजार बरामद भएको थियो। खोजबिनका क्रममा सोही ठाउँ बस्ने दशलालका मामा हाकुचाको घरबाट पनि केही सामान फेला परेको थियो।
ती मामा र भान्जा दुवैलाई पक्राउ गरेर सिंहदरबार ल्याएपछि मात्र परिचय खुलेको थियो, दशलाल त युवराज महेन्द्रकै बगैँचे रहेछन्। उनले बयानका क्रममा आफूसहित तीनजना मिलेर युवराजको कोठाबाट सामान चोरी गरेको बताएका थिए। चोरी गर्ने तेस्रा व्यक्ति भने फरार रहे।
थप बयानका लागि उनीहरूलाई हतकडी लगाई खुट्टा ठिँगुरामा हालेर प्रहरी हिरासतमा राखिएको थियो। तर, पक्राउ परेकै राति १ बजेतिर उनीहरू ठिँगुराबाट खुट्टा फुस्काएर भाग्न सफल भए। उनीहरूलाई खोज्न प्रहरीले ठूलै मिहिनेत गर्नुपर्यो।
नारायणहिटीमा युवराजको कोठामा चोरी हुँदा नेपालमा प्रजातन्त्र स्थापना भएको दुई महिना पनि बितेको थिएन। नेपाल आर्मी र पुलिसको संरचना कमजोर थियो।

नारायणहिटी दरबार संग्रहालय। तस्बिर : विकिपेडिया
राणाकालमा सुरक्षाको सम्पूर्ण जिम्मा श्री ३ महाराजको तजबिजमा चल्थ्यो। राणाशासनका संस्थापक जंगबहादुर राणाले राजालाई खुसी तुल्याएर दरबारको लालमोहर अन्य व्यक्तिले हात पार्ने डरले दरबारको सम्पूर्ण सुरक्षा हेर्ने जिम्मा आफ्ना विश्वासिला ठूला दाजु भक्तवीरलाई दिएका थिए।
यस्तै, राणाशासनका अन्तिम महाराज मोहनशमशेर राणाको पालामा नारायणहिटीको सुरक्षा युगविक्रम राणाको हातमा थियो। तर, राणाशासनको अन्त्यपछि राजा त्रिभुवन दरबारको सम्पूर्ण सुरक्षा आफ्नो हातमा चाहन्थे। त्यसैले उनले नरशमशेरलाई आर्मी प्रमुखको जिम्मेवारी दिन चाहेका थिए। तर, राणाकालमा आफूले प्रहरीतर्फको गतिविधि हेरेको भन्दै नरले आर्मीतर्फ इच्छा जाहेर गरेनन्।
नरशमशेर राणाको आत्मवृत्तान्तका लेखक तथा त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक हेमन्तशमशेर राणा भन्छन्, “नरशमशेरले आर्मी चिफ हुन नमानेपछि राजा त्रिभुवनले दरबारभित्रको सुरक्षा प्रबन्ध मिलाइदिन आग्रह गर्नुभयो। उहाँले पनि तीनवटा बटालियन (गोरखबहादुर गण, कालीबहादुर गण र रिफल गण) लगेर दरबारको सुरक्षा व्यवस्था बलियो बनाइदिनुभयो।”
दरबारमा भएको यो चोरीको गुत्थी सुल्झाउन नेपाल प्रहरीलाई हम्मे हम्मे पर्यो।
दरबारको सुरक्षा व्यवस्था चुस्त बनाउने प्रक्रिया चलिरहेकै बेला युवराज महेन्द्रको कोठामा चोरी भएको थियो।
हेमन्त भन्छन्, “दरबारको सुरक्षा व्यवस्था चुस्त बनाउने अभियानको नेतृत्व गरेकै कारण उहाँ नेपालको पहिलो आईजीपी हुन पाउनुभएन। तोरणशमशेर राणालाई पहिलो आईजीपी नियुक्त गरियो। तर पछि गणेशमानको आग्रहमा तोरणलाई आर्मीमा सरुवा गरेर नरशमशेरलाई आईजीपी बनाइयो।”
उनी आईजीपी रहेको बेला जेलबाट भागेका दरबारका चोरहरू चार महिनापछि चोभारनजिकैबाट पक्राउ परे। उनीहरूलाई १५ भदौ २००८ को बिहान प्रहरीहरूले घेरा हालेर पक्राउ गरेको थियो।
दशलाल र हाकुचालाई पक्राउ गरेपछि नेपाल प्रहरीका अतिरिक्त आईजीपी मनशमशेर राणाले गोरखापत्रसँग भनेका थिए, ‘यी दुवै चोरलाई पक्रन पुलिस विभागले पहिलेदेखि नै ठूलो कोसिस गरिरहेको थियो। यिनीहरूको गतिविधिमाथि पूरा पूरा निगरानी गरिराखेका थियौँ। यी मसहुर चोरहरू यति सतर्क रहन्थे कि यिनीहरूको खाने, सुत्ने र बस्ने ठाउँहरूको फासला कोसौँ रहन्थ्यो।’
दरबारको चोर पक्रिन इन्स्पेक्टर देवेन्द्र मानसिंहको मातहतमा दुई लहरी पुलिस चोभारमा तैनाथ थिए। दरबारमा भएको यो चोरीको गुत्थी सुल्झाउन नेपाल प्रहरीलाई हम्मे हम्मे पर्यो। तर, लामो अनुसन्धानपछि प्रहरीले आखिर सफलता प्राप्त गरेरै छोड्यो।