काठमाडौँ। जनजागृति युवा क्बलविरुद्ध जित हात पार्दै चित्लाङ एफसी राष्ट्रिय लिगमा छनोट भएको छ। मकवानपुरको हेटौँडास्थित गौरिटार रंगशालामा बिहीबार सम्पन्न एन्फा प्रेसिडेन्ट लिगअन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा चित्लाङ २–० ले विजयी भएको हो।
चित्लाङको जितमा विज्ञान खड्का र मदन स्याङ्तानले गोल गरे। जितसँगै चित्लाङ यही पुस ९ बाट हुने भनिएको राष्ट्रिय लिगका लागि छनोट भएको हो।
चित्लाङ राष्ट्रिय लिगमा छनोट हुने दोस्रो टोली बनेको हो। यसअघि लालीगुराँस एसोसिएसन छनोट भइसकेको छ। चार खेलबाट ७ अंक जोड्दै चित्लाङ दोस्रो स्थानमा उक्लिएको छ। ७ अंक नै रहेको लालीगुराँस शीर्ष स्थानमा यथावत् छ।
समान खेलबाट १ अंक रहेको जन जागृति पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ। समान खेलबाट ६ अंकसहित विजय स्पोर्ट्स क्लबले तेस्रो स्थानमा रहेर प्रतियोगिता सकाएको छ।
खेलको १३औँ मिनेटमा विज्ञानको गोलमार्फत चित्लाङले सुरुआती अग्रता लिएको थियो। ७०औँ मिनेटमा मदनले अर्को गोल थप्दै सहज जित दिलाए।