काठमाडौँ। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदभार ग्रहणसँगै वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मका प्रहरीका लागि सहुलियत कर्जा बढाउने निर्णय गरेका छन्।
आईजीपीको दर्ज्यानी चिह्न प्राप्त गरेपछि प्रहरी प्रधान कार्यालय नक्साल पुगेर कार्यभार सम्हाल्दै उनले पहिलो निर्णयका रूपमा दुई लाख रपैयाँको आकस्मिक कर्जा विस्तार गर्ने घोषणा गरेका हुन्। शिक्षा, स्वास्थ्य र घरायसी समस्यामा परेका प्रहरी कर्मचारीलाई कार्यविधि बनाएर सहुलियत कर्जा दिइनेछ।
यसका लागि १० करोड रुपैयाँ छुट्याउने तयारी छ। अहिले प्रहरी कर्मचारीलाई पाँच प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइँदै आएको छ। नयाँ व्यवस्थाअनुसार पनि ब्याजदर यथावत राखी कर्जा एक वर्षभित्र फिर्ता गर्नुपर्ने प्रावधान रहनेछ।