२७ कार्तिक २०८२
अ+
अ-

ढाका। बंगलादेशको अन्तरिम सरकारले अर्को संसदीय चुनाव भएकै दिन जनमत संग्रह गर्ने निर्णय गरेको छ।

अन्तरिम सरकार प्रमुख प्रोफेसर मोहम्मद युनुसले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै यो घोषणा गरेका हुन्।

गत वर्षको विद्यार्थी नेतृत्वको आन्दोलनपछि तयार पारिएको ‘जुलाई बडापत्र’ कार्यान्वयन गर्न यो जनमत संग्रह गरिनेछ।

अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले संसदीय चुनाव फेब्रुअरीमा हुने र जनमत संग्रह पनि सोही दिन हुने बताए।

जनमत संग्रहको उद्देश्य के हो?
उनले जनमत संग्रहका लागि मतपत्रसँगै मतदाताहरूलाई ‘हो’ वा ‘होइन’ मा चार प्रश्नको जवाफ दिन आग्रह गरिने बताए।

यदि बहुमत मतदाताले ‘हो’ मतदान गरे भने संविधान संशोधन गर्न बंगलादेशमा संवैधानिक सुधार परिषद् गठन गरिनेछ। ‘जुलाई बडापत्र’ को उद्देश्य देशको राजनीतिक र संस्थागत संरचना सुधार गर्नु थियो।

समाचार एजेन्सी रोयटर्सका अनुसार बंगलादेशका अधिकांश राजनीतिक दलहरूले अक्टोबरमा बडापत्रमा हस्ताक्षर गरेका थिए, तर गत वर्षको आन्दोलनका नेताहरू र चार वामपन्थी दलहरू मिलेर गठन गरिएको राष्ट्रिय नागरिक पार्टी (एनसीपी) ले यसलाई बहिष्कार गर्‍यो।

एनसीपीले बडापत्रमा गरिएका वाचाहरू कार्यान्वयन गर्न कानुनी रूपरेखा वा आवश्यक ग्यारेन्टीको अभाव रहेको तर्क गरेको छ।