काठमाडौं। चालु आर्थिक वर्ष ०८२/८३ को तीन महिनामा चालु खाता दुई खर्ब ३७ अर्ब ५९ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब १५ अर्ब ३६ करोड मात्र बचतमा थियो।
अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्ष ८६ करोड डलरले बचतमा रहेको चालु खाता यस वर्ष बढेर एक अर्ब ६९ करोड डलर पुगेको छ। चालु खातामा आएको यो सुधार प्रेषणमा वृद्धि तथा बाह्य क्षेत्रीय स्थितिमा देखिएको सन्तुलनका कारण भएको मानिएको छ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर पनि बढेर पाँच अर्ब ५५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर दुई अर्ब मात्र थियो। प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भने घटेको छ। समीक्षा अवधिमा एक अर्ब ७४ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ भने अघिल्लो वर्षको सोही अवधिमा यो राशि चार अर्ब ८१ करोड थियो।
समीक्षा अवधिमा समग्र शोधनान्तर दुई खर्ब ६४ अर्ब तीन करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यो बचत एक खर्ब ८४ अर्ब ९९ करोड थियो। अमेरिकी डलरमा हेर्दा पनि शोधनान्तर बचत अघिल्लो वर्षको एक अर्ब ३८ करोडबाट बढेर समीक्षा अवधिमा एक अर्ब ८८ करोड पुगेको छ।