काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा आज (बुधबार) देखिएको तनाव र हिंसा दुखद भएको भन्दै आफूले राजनितिक असन्तुष्टिलाई गम्भीरपूर्वक लिएको बताएकी छन्।

सिमरामा बुधबार भएको घटनाबारे सामाजिक सञ्जालमा उनले सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट कसैलाई नभएको बताइन्। “बाराको सिमरामा आज देखिएको तनाव र हिंसा अत्यन्तै दुःखद छ। म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन। युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ‚” उनले लेखेकी छन्‚ “अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो। तर यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट होइन।”

आफूले गृह प्रशासन तथा सुरक्षा निकायलाई निर्वाचनका लागि भयमुक्त वातावरण बनाउन उच्च संयम र पूर्ण तयारीका साथ काम गर्न निर्देशन दिएको बताइन्। “मैले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति तथा सुव्यवस्था कायम गर्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउन उच्च संयम र पूर्ण तयारीका साथ काम गर्न निर्देशन दिएको छु‚” उनले भनेकी छन्।

लोकतान्त्रिक प्रणालीको माध्यमबाट मात्रै युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिने पनि उनको भनाइ छ। प्रधानमन्त्री कार्कीले भनिन्‚ “त्यसैले म सबै पक्षलाई अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न हार्दिक अपिल गर्दछु।”