काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको आग्रह- अहिलेको मौसम उपयुक्त छ‚ काम तीव्र रूपमा गर्नू

७ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ। अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ।

यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत छ। साँगादेखि धुलिखेलसम्मको ७.५ मिटर सडक खण्ड विस्तार प्रगति ५५ प्रतिशत छ। हाल दुवै प्याकेजको निर्माण धमाधम भइरहेको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सूर्यविनायक-धुलिखेल सडक विस्तारको अनुगमन गरी निर्माण प्रगतिबारे जानकारी लिएको उनको सचिवालयले जनएको छ। निर्माण प्रगति, समस्यालगायत विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, निर्माण व्यवसायीसँग छलफल गरी मन्त्री घिसिङलले काम गर्ने अहिले उपयुक्त मौसम रहेकाले निर्माण तीव्र रूपमा गर्न आग्रह पनि गरे।

उनले आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषय भए ती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माणमा पूर्ण रूपमा परिचालित भई आगामी असारभित्रमा सडक विस्तार सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे। अर्थ मन्त्रालयबाट प्रतिबद्धता जनाइसकेकाले अब आयोजना निर्माणमा बजेट अभाव नहुने उनले उल्लेख गरे।

सडक सीमा विवाद, घरटहरा हटाउने समस्या, बजेटको अभावलगायत कारणले आयोजनाको निर्माण प्रभावित भएको थियो। आयोजनाका लागि चालु आर्थिक वर्षमा ७० करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ। आयोजनाले करिब चार अर्ब रुपैयाँ थप बजेट माग गरेको छ।

मन्त्री घिसिङले बनेपा नगरपालिकाका प्रमुखसँग छलफल गरी बनेपा बजार क्षेत्रमा सडक विस्तारमा देखिएको समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिन पनि आग्रह गरे। दुवै प्याकेजमा टेवा पर्खाल तथा नाली निर्माण प्रगति ९५ प्रतिशत छ। साँगा-धुलिखेल खण्डको करिब दुई किलोमिटर सडक कालोपत्रे गरिएको छ।