१० मंसिर २०८२
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले आज विशेष भेला आह्वान गरेको छ। केन्द्रीय समिति बैठकमार्फत विशेष महाधिवेशन घोषणा गर्न दबाब दिने उद्देश्यले भेला बोलाइएको नेताहरूले बताएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि मंसिर ११ गते बस्दैछ। उक्त बैठकले विशेष महाधिवेशनको मिति निर्धारण गर्नुपर्ने माग पक्षधरहरूले राख्दै आएका छन्।

राष्ट्रिय सभा गृहमा बुधबार दिउँसो १ बजेदेखि भेला सुरु हुनेछ। भेलामा हस्ताक्षरका आधारमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।

विशेष महाधिवेशनको पक्षमा रहेका वरिष्ठ नेताहरू, विभिन्न जिल्लाका सभापति तथा नयाँ पुस्ताका प्रतिनिधिहरूले भेला सम्बोधन गर्ने जानकारी दिइएको छ।

त्यसैगरी, काठमाडौं बाहिरबाट समेत हस्ताक्षरकर्ताहरू स्वतःस्फूर्त रूपमा काठमाडौं आइरहेको नेविसंघका पूर्व महामन्त्री युवराज पाण्डेले बताए। उनका अनुसार, ‘पुराना नेतादेखि जेनजीसम्म सबैले विशेष महाधिवेशनका पक्षमा विचार राखेका छन्।’

विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका २ हजार ४९९ प्रतिनिधिले हस्ताक्षरसहित लिखित प्रस्ताव २९ असोजमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका छन्। कांग्रेस विधानअनुसार प्रस्ताव दर्ता भएको मितिबाट तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ।