काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाल प्रहरीले प्राविधिकतर्फका दुई दरबन्दी प्रशासनमा मिलान गरी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाको गृहकार्य थालेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सवारी र केनाइन महाशाखाको प्राविधिक दरबन्दी प्रशासनतर्फ थप्ने तयारी गरिएको छ।

यसका लागि गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओएन्डएम) गरिरहेको छ। ती दुई दरबन्दी प्रशासनमा मिलन गर्न मन्त्रिपरिषद्‌ले स्वीकृति दिइसकेको छ। “ओएन्डएम सकिएपछि दुई दरबन्दी थपेर एसएसपी बढुवा गर्ने आन्तरिक तयारी छ,” केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले भने, “सकेसम्म छिटो यो प्रक्रिया टुंगो लाग्ने छ।”

नेपाल प्रहरीमा अहिले सातजना एसएसपी दरबन्दी रिक्त छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी प्रकाश रानाभाटको राजीनामा र विश्व अधिकारी डीआईजी बढुवा भएपछि प्रहरीमा सात एसएसपी रिक्त छन्। दुई दरबन्दी थपेपछि नौजनालाई बढुवा गर्ने तयारी छ।

रिक्त सात एसएसपीमा दुई दर्जन प्रहरी उपरीक्षक (एसपी) प्रतिस्पर्धामा छन्। भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेन्द्रप्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोखरेल, पदमबहादुर विष्ट, वासुदेव खतिवडा र प्रजित केसी मुख्य प्रतिस्पर्धामा छन्। यसैगरी, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलीप घिमिरे, वीरेन्द्रबहादुर शाही, राजकुमार सिलवाल, सुवासचन्द्र बोहरा, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रमेश पण्डितलगायत प्रतिस्पर्धामा छन्।

यो ब्याचबाट पहिलोपटक २०८१ माघमा रमेश थापासहित २५ जना एसएसपी भएका थिए। प्रतिस्पर्धीहरू धेरै रहेका कारण रिक्त सात पद पूर्ति हुँदा पनि यो ब्याचका केही छुट्नेछन्।