सुर्खेत। कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीको कविता संग्रह ‘शाश्वत सत्य’ विमोचन भएको छ।
वीरेन्द्रनगरमा शनिबार औपचारिक कार्यक्रमका बीच कविता संग्रह विमोचन गरिएको हो। मन्त्री भण्डारीसहित डा. मधुसूदन घिमिरे, नवराज लम्साल, ओम रिजाललगायत साहित्यकारले संयुक्त रुपमा कविता संग्रह सार्वजनिक गरेका हुन्।
कविता संग्रहका लेखक भण्डारीले आमनागरिकका रुपमा आफूले भोगेका र देखेका वास्तविकतालाई कवितामा उतारेको बताए। प्रगतिशील लेखक संघका अध्यक्ष डा. घिमिरेले शाश्वत सत्य कविता संग्रहले नेपाली साहित्यमा एउटा इँटा थपिएको धारणा राखे। कविता संग्रहमा मन र मस्तिकको सन्तुलन गर्न खोजिएको उनले बताए।
लेकख एवं सञ्चारकर्मी लम्सालले राजनीति र साहित्यलाई छुट्याउन कविता संग्रह विवेकले बाँधिएको उल्लेख गरे। अर्का साहित्यकार ओम रिजालले भण्डारीको कविता संग्रहले विद्रोही चेतका साथ मानिसको जीवनमरणका हरेक कोणहरु समेटेको बताए।
कविता संग्रहमाथि समीक्षा गर्दै साहित्यकार वासुदेव पाण्डेले यो कविता संग्रहमा सत्य प्रेम, अभावको पाठशाला र कर्णालीको गौरवमय इतिहास र संस्कृततिलाई लिपिबद्ध गरेको बताए। मानव जीवनका हरेक कालखण्ड सुन्दर रुपमा उतारिएको बताउँदै उनले नयाँ पुस्ताले हाम्रो कला र संस्कृतिलाई भुल्न थालेको वास्तविकतालाई कविले कवितामा कैद गर्न सक्नु सुखद भएको उल्लेख गरे ।