काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१७ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण जापान सरकारसँग ऋण सम्झौता भएको छ। अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा ऋण सम्झौतामा हस्ताक्षर भएको अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले जानकारी दिए।

जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१ अर्ब ७६ करोड रुपैयाँ) बराबरको ऋण सहायता उपलब्ध गराएको छ। जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर वार्षिक ०.२ प्रतिशत हुनेछ।

कोटेश्वर तथा जडीबुटी खण्डमा निर्माण हुने अन्डरपास तथा फ्लाइओभरले काठमाडौं, ललितपुर, भक्तपुर तथा बीपी राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन सहयोग मिल्ने अपेक्षा गरिएको छ। ऋण सहायतासँग सम्बन्धित एक्सचेन्ज अफ नोटमा अर्थ-सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरेका छन्।

ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सह-सचिव धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरेका छन्।

कार्यक्रमममा अर्थमन्त्री खनालले नेपाल-जापान सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाको महत्त्वपूर्ण जामयुक्त स्थानको सुधारमा प्रगति ल्याउने उद्देश्यले अघि बढाइएको परियोजनाले राजधानीको यातायात व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउने बताएका छन्।

नेपालका लागी जापानी राजदूत मायदा तोरुले सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुने पूर्वाधारले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थामा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गरेका छन्।

सह-सचिव शर्माले आगामी दिनमा द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने बताएका छन्। आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन गरिने पाण्डेयले बताए।

कार्यक्रममा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, जापानी दूतावास तथा जाइका नेपालका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।