काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल–भारतबीचको लिपुलेक मार्ग सम्बन्धी सीमा विवादमा चीन कुनै पनि पक्षमा नपर्ने र दुई पक्षले आपसी समझदारीमार्फत समाधान खोज्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको शनिबारको भेटमा राष्ट्रपति सीले यस्तो अभिव्यक्ति दिएको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए। भेटमा प्रधानमन्त्री ओलीले भारत–चीनबीच हालै लिपुलेक मार्गमार्फत भएको सीमा व्यापार सम्बन्धी समझदारीको प्रसङ्ग उठाउँदै सो भूभाग नेपालकै क्षेत्रभित्र पर्ने भन्दै आपत्ति जनाएका थिए।
सचिव राईका अनुसार राष्ट्रपति सीले जवाफमा लिपुलेक मार्ग परम्परागत रूपमा प्रयोग हुँदै आएको नाका भएको तर नेपाल–भारत सीमा विवादमा चीनले कसैको पक्ष लिन नचाहेको स्पष्ट पारेका थिए।