रिपोर्ट

ब्याटिङमा विदेशी प्रभावशाली, बलिङ नेपाली खेलाडीको नियन्त्रणमा

२० मंसिर २०८२
पोखरा एभेन्जर्सका एडम रसिङटन र सुदूरपश्चिम रोयल्सका अविनाश बोहरा। तस्बिर : एनपीएल
अ+
अ-

नेपाली बलरको निरन्तर प्रभाव र विदेशी ब्याटरको उचाइले यतिबेला नेपाल प्रिमियर लिग (एनपीएल)लाई दुई धारमा बाँडेको देखिन्छ। एकातिर सन्दीप लामिछाने र अविनाश बोहराजस्ता घरेलु बलरले समान १२ विकेट लिँदै परिपक्वता देखाइरहेका छन्। अर्कातर्फ विदेशी ब्याटरले सहजै रन बनाएर आफ्नो अनुभव लिगमा प्रस्तुत गरिरहेका छन्। यही चक्रले लिगमा प्रतिस्पर्धा बढ्दा दर्शक लिगतिर आकर्षित हुन थालेका हुन्।

लिग चरणका खेल सम्पन्न हुँदै जाँदा यस संस्करणमा ब्याटिङतर्फ विदेशी खेलाडीको असर अत्यन्त प्रबल देखिन्छ। धेरै टिमले विदेशी ओभरसिज-टप-अर्डरका भरमा ठूलो स्कोर बनाएका छन्। यसले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भिड बढाउने र फ्रेन्चाइजको ‘ब्रान्ड भ्यालु’ उकास्ने जिम्मेवारी पनि यिनै विदेशी ब्याटरको काँधमा देखिएको भन्दा गलत अर्थ नलाग्ला।

विदेशी खेलाडीको पावर हिटिङ, बडी ल्यांग्वेज, जोखिम लिने शैली र दबाबलाई चिरेर ठूलो स्कोर बनाउने क्षमताले लिगलाई नयाँ उचाइमा पुर्‍याएको छ।

“हामी अपराजित रहनुको कारण भनेकै बलिङसँगै मजबुत ब्याटिङ पनि हो,” सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटा भन्छन्। साबिक उपविजेता सुदूरपश्चिमले लिग चरणमा प्लेअफ पुगिसकेको विराटनगर किङ्ससँग अझै खेल्न बाँकी छ। तर, खेलेका सबै ६ खेल जित्दै सुदूरपश्चिमले क्वालिफायर-१ मा आफ्नो स्थान पक्का गरिसकेको छ। अब उसलाई फाइनलमा स्थान बनाउन दुई मौका मिल्नेछ।

सुदूरपश्चिमलाई यो स्थानमा पुर्‍याउन विदेशी ब्याटर क्रिस लिनको भूमिका महत्त्वपूर्ण मानिन्छ। क्यानडाको फ्रेन्चाइज लिग ग्लोबल टी-२० मा सुदूरपश्चिमकै कप्तान दीपेन्द्रसिंह ऐरीसँगै उनले मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए। आफ्नै कप्तानीमा टाइगर्सलाई च्याम्पियन बनाएका अस्ट्रेलियन ब्याटरले यसपल्ट सुदूरपश्चिमबाट खेल्दै एक अर्धशतकसहित १४३ रन बनाएका छन्। क्वालिफायर-१ मा स्थान बनाउन चितवन राइनोजविरुद्ध जित्नैपर्ने खेलमा उनले अविजित ७५ रनको महत्त्वपूर्ण इनिङ्स खेलेका थिए।

सुदूरपश्चिम रोयल्सका क्रिस लिन। तस्बिर : एनपीएल

उनकै इनिङ्समा सुदूरपश्चिमले १७० रनको चुनौतीपूर्ण लक्ष्य दियो। तर, चितवन १७.१ ओभरमा सबै विकेट गुमाउँदै १२० रनमै रोकियो।

विदेशी खेलाडीको रौनक

यस संस्करणमा ५२ विदेशी खेलाडी नेपाल आएका छन्। तीमध्ये सबैभन्दा बढी अस्ट्रेलिया र इङ्ल्यान्डका समान सात जना छन्। दुई ठूला टेस्ट राष्ट्रबाहेक भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तानबाट पनि केही खेलाडी आएका छन्। एसोसिएटका हिसाबमा यी नै टेस्ट राष्ट्रका खेलाडीले रौनक भरिरहेका छन्।

प्लेअफमा पुग्ने सम्भावना सकिए पनि पोखरा एभेन्जर्सलाई ३२ वर्षीय अस्ट्रेलियन विकेटकिपर ब्याटर एडम रोसिङ्टनको बलियो साथ मिलेको छ। अघिल्लो संस्करणमा दुई खेल मात्र जितेको पोखराले एडमकै बलबुतामा उत्तिकै जित हासिल गरेको छ। उनी जारी सिजनका सर्वाधिक रनकर्ताको सूचीमा पहिलो स्थानमा छन्।

पाँच खेल खेलेका उनले एक अर्धशतक र शतकसहित २५८ रन बनाएका छन्। उनी एनपीएलमा शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन्। उनले कर्णाली याक्सविरुद्ध १०८ रनको इनिङ्स खेलेका थिए। त्यसअघि कर्णालीका मार्क वाटले पनि शतक प्रहार गरेका थिए।

कर्णाली याक्सका मार्क वाट। तस्बिर : एनपीएल

अहिलेको तथ्यांक हेर्दा अर्धशतक र शतकमा विदेशी खेलाडीकै दबदबा छ। हालसम्म ३१ अर्धशतक र दुई शतक प्रहार भएका छन्। तीमध्ये २० अर्धशतक र दुई शतक विदेशी खेलाडीले नै हानेका हुन्।

एनपीएलमा पहिलो शतक भने कर्णालीका वाटको नाममा रह्यो। मुख्यतया बलरको भूमिकामा रहने वाटले लुम्बिनीविरुद्ध ११४ रनको इनिङ्स खेल्दै १२.२ ओभरमै खेल सकाइदिए। यसक्रममा उनले ६ चौका र १२ छक्का प्रहार गरे। जारी प्रतियोगितामा एकै खेलमा प्रहार भएको यो सबैभन्दा बढी छक्का हो। योसँगै २९ वर्षीय स्कटिस खेलाडीले पहिलो संस्करणमा अमेरिकी खेलाडी आन्द्रिज गाउसले बनाएको कीर्तिमान पनि भंग गरे। पोखराबाटै खेलेका उनले ५४ बलमा शतक प्रहार गरेका थिए। तर, वाटले ४१ बलभन्दा बढी खेल्न परेन।

एडमले भने ५८ बल खेल्नुपरेको थियो। “यहाँको पिच एकदमै राम्रो छ। राम्रो विकेट रहेका कारण सहज भइरहेको छ,” एडमले शतकपछि भनेका थिए।

पोखरालाई मात्र होइन, अहिले आठमध्ये सात टोलीलाई विदेशी खेलाडीको साथ बलियो छ। प्रतियोगिताबाट बाहिरिए पनि कर्णालीका वाट समान एक शतक र अर्धशतकसहित २४२ रन बनाउँदै शीर्ष रनकर्ताको सूचीमा दोस्रो स्थानमा छन्। उनकै योगदानमा कर्णालीले लुम्बिनीविरुद्ध नौ विकेटको जित हात पारेको थियो, जुन उसको एक मात्र जित हो।

पोखराविरुद्ध ५९ रनको इनिङ्स खेले पनि २०२ रनको विशाल लक्ष्य भेट्टाउन नसक्दा कर्णाली प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो। हुन त कर्णाली सुरुआतदेखि नै विदेशी खेलाडीमा अत्यधिक निर्भर थियो। ६ खेलाडी भित्र्याएको कर्णालीलाई भने स्वदेशी खेलाडीको गतिलो साथ  मिलेन। मुख्य प्रशिक्षक राजु बस्नेत पनि यो कुरा नकार्न सक्दैनन्।

“अन्य टोलीमा विदेशी र स्वदेशी दुवै खेलाडी चले। तर, हाम्रोमा स्वदेशी गुलसनकुमार झा मात्र चले। त्यसले पनि समस्या थप्यो,” उनी सुनाउँछन्।

क्रिकेटमा सबैभन्दा छोटो फर्म्याट मानिने टी-२० को विशेषता नै रोमाञ्चकता भर्नु हो। जति ब्याटरले चौका तथा छक्का प्रहार गर्छन्, रन बनाउँछन्, त्यति नै प्रतियोगितामा रोमाञ्चकता थपिन्छ। अझ जितको लय पनि यस्तै प्रदर्शनले उच्च पार्छ। तर, कर्णालीमा वाटबाहेक अन्य खेलाडी चल्न सकेनन्।

खेलाडी चले पनि राम्रो नतिजा हात पार्न नसकेको टोलीमा पर्छ, चितवन। हालसम्मको तथ्यांक हेर्ने हो भने चितवन इङ्ल्यान्डका रवि बोपारामा निर्भर देखिएको छ। उनी जारी प्रतियोगितामा सबैभन्दा बढी अर्धशतक प्रहार गर्ने खेलाडी हुन्। चितवनलाई पहिलो संस्करणमा प्लेअफमा पुर्‍याएका यी अलराउन्डरले तीन अर्धशतक प्रहार गरिसकेका छन्। उनीबाहेक भारतका प्रियांक पन्चलले पनि दुई अर्धशतक प्रहार गरेका छन्। नेपाली ब्याटरतर्फ भने कुशल भुर्तेलले मात्र प्रियांकको कीर्तिमान बराबर गर्न सकेका छन्।

रवि बोपारा। तस्बिर : एनपीएल

बलरमा भने कथा उल्टो छ। कुनै पनि टिमका विदेशी बलरले उल्लेख्य प्रभाव जमाउन सकेका छैनन्। सतह, नियन्त्रण, सिम मुभमेन्ट र हाइट प्रयोग गर्ने तरिकालगायत सबै सन्दर्भमा नेपाली बलर नै बढी परिपक्व देखिएका छन्। डेथ-ओभरमा करण केसीको गुड लेन्थ, सोमपाल कामीको क्रस सिम र सन्दीप लामिछानेको गुगली र मध्य ओभरका ब्रेकथ्रु दिलाउने गुणले लिगलाई नेपाली बलिङप्रधान प्रतियोगिता बनाइदिएको छ।

एनपीएलमा हालसम्म सर्वाधिक विकेट लिएका सन्दीप लामिछाने। तस्बिर : एनपीएल

नेपाली बलरले यसरी निरन्तर सफलता हात पार्नुको ठूलो कारण भनेको वर्षौंदेखि यिनै मैदानमा क्रिकेट खेल्नु नै हो। चाखलाग्दो कुरा, विदेशी ब्याटरले दर्शकलाई तानिरहँदा मूल प्रभाव भने अझै नेपाली बलरले नै निर्धारण गरिरहेका छन्। धेरै खेलमा विदेशीहरूले बनाएको ठूलो स्कोरलाई रोक्ने, खेललाई लयमा फर्काउने वा प्रतियोगितामा टोलीलाई जीवित राख्ने जिम्मा नेपाली बलरले नै बोकिरहेका छन्।

यस्तो सन्तुलनले लिगलाई थप प्रतिस्पर्धी बनाएको छ। त्यसैले जारी एनपीएललाई एक वाक्यमा समेट्नुपर्दा, रौनक विदेशीले थपेका छन्, खेलको धड्कन भने नेपाली बलरकै नियन्त्रणमा छ।