काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ मंसिर २०८२
विशेष अदालतमा बयानका लागि गइरहेका प्रदीप अधिकारी।
अ+
अ-

काठमाडौँ। नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलगायतविरुद्ध विशेष अदालतमा दर्ता भएको भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि आज (शुक्रबार) सुनुवाइ हुन नसक्दा आइतबारसम्म हिरासतमै रहने भएका छन्। पुर्पक्षको सुनुवाइपछि मात्रै अधिकारीलगायतलाई थुनामा राखेर अनुसन्धान गर्ने कि धरौटीमा छाड्‌नेबारे निर्णय हुनेछ।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल, विदुर कोइरालाको इजलासमा पेसी तोकिएको थियो। तर उच्च अदालतमा हुँदा क्यानसँग सम्बन्धित मुद्दा हेरेका कारण न्यायाधीश पौडेलले ‘हेर्न नमिल्ने’ भएपछि अधिकारीलगायतको थुनछेक बहस हुन नसकेको विशेष अदालतका उपरजिस्ट्रार मुकुन्द निरौलाले जानकारी दिए। मुद्दाका आरोपितहरूको बयान भने सकिएको छ। तर थुनछेक बहस हुन नसक्दा हिरासत बसाइ लम्बिने भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिञ्चोक हेलिपोर्टमा अनियमितता अभियोगमा १७ मंसिरमा अधिकारीसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

अख्तियारले प्रदीप अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नवलविक्रम थापा, अभियन्त्र कन्सल्टिङ प्रालि र कम्पनी प्रमुख विजय थापा, निजी इन्जिनियर गुरुदत्त अधिकारीलाई प्रतिवादी बनाएको छ। ६ जनालाई जनही र कम्पनीलाई छुट्टाछुट्टै १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो तथा सजाय माग गरी मुद्दा दर्ता भएको हो।

भक्तपुरको नलिञ्चोकमा रहेको हेलिपोर्ट निर्माणको क्रममा अनियमितता गरेको आरोप लागेको छ।