काठमाडौं। अमेरिकी सेनाले नेपाली सेनालाई स्काई ट्रक र एयर एम्बुलेन्स दिएको छ। ती स्काई ट्रक र एयर एम्बुलेन्स शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसकेका छन्।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार पारस्परिसक सैनिक सम्बन्ध स्थापना गर्ने क्रममा अमेरिकी सेनाले यसअघि दुई वटा स्काई ट्रक दिएको थियो।
“अहिले स्काई ट्रक र एयर एम्बुलेन्स आएका छन्, यी अमेरिकी दूतावासमार्फत् हस्तान्तरण भएपछि सञ्चालन गरिन्छ,” सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने, “अर्को साता हस्तान्तरणको कार्यक्रम राखिएको छ।” स्काइ ट्रक र एयर एम्बुलेन्स राहत तथा उद्धार कार्यका लागि प्रयोग गरिने बस्नेतले बताए।
नेपालमा विपद व्यवस्थापन र भौगोलिक बनावट सुहाउँदो उद्धार कार्यमा स्काई ट्रक आवश्यक परेको भन्दै सेनाले अमेरिकाको सहयोग मागेको थियो। बस्नेतले भने, “चार वटा जहाज दिने भनी नेपाली सेना र अमेरिकी सेनाबीच द्विपक्षीय सहमति थियो।”