काठमाडौँ। काठमाडौँ महानगरपालिकाको गौरव योजना ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत अहिलेसम्ममा ५५ किलोमिटर सडक कालोपत्रे भएको छ। तीन वर्ष नियमित चल्ने कार्यक्रमको लागत दुई अर्ब ५२ करोड ४७ लाख रुपैयाँ हो। पूर्वाधार सुधार गरेर सडकलाई धुलोरहित बनाउने यो कार्यक्रम बहुवर्षीय योजना हो। यसका लागि हरेक वर्ष करिब एक अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
वडाबाट प्राप्त भएका मागका आधारमा सार्वजनिक निर्माण विभागबाट सञ्चालन हुने कार्यक्रममा सडकका खाल्टाखुल्टी पुर्ने, मर्मत गर्ने, कालोपत्रे तथा आवश्यकता आधारमा ढलान गर्ने, ढल मर्मत गर्नेजस्ता काम हुन्छन्। यो कामका लागि दुई अर्ब ९९ करोड ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। काठमाडौँलाई चार भागमा बाँडेर बनाइएको प्याकेजमा सार्वजनिक खरिद प्रक्रियाबाट प्रतिस्पर्धामा छानिएकालाई कामको जिम्मा दिइएको छ।
यसमध्येको पूर्व क्षेत्रमा ६, ७, ८, ९, १०, ३१ र ३२ गरी ७ वटा वडा पर्छन्। यी वडामा काम गर्न करिब ९० करोड रुपैयाँको लागत अनुमान गरिएको थियो। सार्वजनिक खरिद प्रक्रियाबाट यसको कार्यादेश रकम ७९ करोड ५७ लाख रुपैयाँ छ। कामको जिम्मा वर्ल्डवाइड-कोहिनुर-रमिता जेभीले पाएको छ। निर्माण पक्षसँग १४ असोज २०८१ मा सम्झौता भएको हो। सम्झौता अवधि २०८३ असार मसान्तसम्म हो।

योजनाको पूर्वी क्षेत्रका फोकल पर्सन वरिष्ठ इन्जिनियर सन्दीप ढकालका अनुसार अहिलेसम्म १८ किलोमिटर सडक कालोपत्रे र ३.५ किलोमिटर सडक ढलान गरिएको छ। यसअन्तर्गत वडा ६ को सिमलटार, पाटीटार नयाँ बस्ती, तीनचुली आरुबारी हुँदै बौद्धसम्मको भित्री सडक कालोपत्रे गरिएको छ। वडा ९ को बत्तीसपुतली क्षेत्रका सडक, वडा ३२ का महादेवस्थान कोटेश्वर, बालकुमारी पुलदेखि दोभान पुलसम्म करिडोर, पेप्सीकोला प्लानिङभित्रका सडक कालोपत्रे गरिएका छन्।
यस्तै सूर्यकोट र गैरीगाउँका विभिन्न भित्री सडक कालोपत्रे गरेर सकिएको छ। पश्चिम क्षेत्रमा वडा १३, १४, १५ र १६ पर्छन्। यस क्षेत्रका लागि पीआर के एन्ड केजी एन्ड अम्बुजासँग ६५ करोड ५७ लाख रुपैयाँमा सम्झौता भएको छ। यस क्षेत्रका लागि ७४ करोड ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। निर्माण पक्षलाई ४ वैशाख २०८२ मा कार्यादेश दिइएको छ। यो कामको म्याद २०८४ वैशाख मसान्तसम्ममा छ।
कार्यक्रमको यस क्षेत्रका फोकल पर्सन वरिष्ठ इन्जिनियर माधव काफ्लेका अनुसार चारवटा प्याकेजमध्ये यो प्याकेजमा सबैभन्दा पछि सम्झौता भएकाले अहिलेसम्म डेढ किलोमिटर सडक कालोपत्रे गर्ने काम भएको छ। करिब ८ किलोमिटर सडक सुधारको काम भइरहेको छ।
दुई अर्ब ५२ करोड ४७ लाख रुपैयाँ लागतमा काम आरम्भ‚ महानगरले भन्यो- सडक सुधारको काम निरन्तर
यसमा लामो समयदेखि स्वामित्व विवादमा रहेको बालाजु बाइपासबाट बालाजु उद्यान हुँदै बालाजु चोकसम्मको एक हजार १६० मिटर लामो सडकसहित बालाजु सडकसँगै विष्णुमति कोरिडोरअन्तर्गत वडा १३, १४, १५ र १६ क्षेत्र, कुलेश्वर टेकु सडक, भगवती मन्दिर (कुमारी क्लब), कुलेश्वर लिंक मार्ग, शीतला स्कुलदेखि नागरिक बजार चोक (जामाचो मार्ग), सोह्रखुट्टे पकनाजोल, चाक्सीबारीदेखि जेपी चोकसम्म, कुलेश्वर फलफूल बजार, बालाजु हाइटको गणेश मन्दिरदेखि नागार्जुन पर्खालसम्म, शीतला मार्गदेखि पहिरा लिङ्क मार्ग, उमा महेश्वर मार्ग, रवि भवन, बल्खुको सर्भिस ट्रयाकसहितका सडकमा काम हुनेछ।

उत्तर क्षेत्रमा वडा १, २, ३, ४, ५, २६, २८, २९ र ३० पर्छन्। यस क्षेत्रको कामका लागि आह्वान गरिएको सार्वजनिक बोलपत्रको सूचनाबाट आएका निर्माण पक्षमध्ये ढुकुछु-आरए जेभीले कामको जिम्मा पाएको छ। निर्माण पक्षसँग ७ असार २०८१ मा सम्झौता भएको हो। सम्झौताको अवधि २०८३ असार मसान्तसम्म हो। करिब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट ७३ करोड रुपैयाँमा सम्झौता भएको छ।
पूर्वी क्षेत्रका फोकल पर्सन ढकाल यस क्षेत्रको पनि फोकल पर्सन हुन्। उनका अनुसार यस क्षेत्रमा २३ किलोमिटर सडक कालोपत्रे भएको छ। ३ किलोमिटर सडक ढलान भएको छ। यसअन्तर्गत वडा १ को दरबारमार्ग, नक्साल नागपोखरी, हात्तीसार र कमलादी क्षेत्र, वडा ३ को बाँसबारी र महाराजगन्ज क्षेत्रका भित्री सडक, वडा ४ को बालुवाटार, चुनदेवी, विशालनगरका भित्री सडक, धुम्बाराही र सुकेधाराका भित्री सडक कालोपत्रे भइसकेका छन्।
वडा २६ को मित्रनगरका भित्री सडक, म्हेपी क्षेत्रका सडक, वडा २८ को अद्वैत मार्ग र बज्रवीर मार्ग, वडा २९ को घट्टेकुलो मार्ग, वडा ३० को सहिद मार्ग, राधे मार्ग, देवी मार्ग, गुर्जु मार्ग, धोबीधारा मार्गमा कालोपत्र भएको छ।

मध्य क्षेत्रमा भित्री वडा ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन्। यस क्षेत्रको कामका लागि करिब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो। यसमा बोलपत्रमार्फत करिब ३४ करोड ३३ लाख रुपैयाँ कबोल गर्ने अर्याल-यूएसजी-आरएस लक्ष्मी जेभीले कामको जिम्मा पाएको छ। निर्माण पक्षसँग २९ जेठ २०८१ मा सम्झौता भएको हो। सम्झौताको अवधि २०८४ जेठ मसान्तसम्म हो।
यस क्षेत्रमा ४.५ किलोमिटर सडक कालोपत्रे भएको छ। यस क्षेत्रबका फोकल पर्सन इन्जिनियर समीर अधिकारीका अनुसार १.२ किलोमिटर सडक ढलान र १.५ किलोमिटर सडक ढुंगा छाप्ने काम भएको छ। मध्य क्षेत्रको वडा ११ को सूर्य मार्ग, समिति मार्ग, कारागार मार्ग र कुमारी समिति मार्ग, वडा १२, १७, १८, १९ र २० छुने विष्णुमती करिडोर, वडा १२ को पचली भैरव सडक र पचली भैरव परिसर, वडा १७ को इखापोखरी क्षेत्रपाटी सडक, क्षेत्रपाटी ढल्कु सडक, वडा २७ को ज्याठा मार्गमा कालोपत्रे गरिएको छ।

वडा ११ भोटेबहाल पीपलबोट सडक, वडा १२ मा पर्ने टेकु ट्रान्सफर स्टेसन र दुवै वडा छुने वंशीघाट मार्गमा ढलान गरिएको छ। यसपछि वडा ११ मा नदी करिडोरमा कालोपत्रे गर्ने कार्य, वडा २१ मा ढल तथा सडक निर्माण, २३ र २७ मा ढुंगा छाप्ने कार्य सुरु हुँदै छ।
