काठमाडौँ
००:००:००
२२ मंसिर २०८२, सोमबार

२२ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट तथा छलफल गरेकी छन्।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वमा आएको टोलीसँगको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, मुख्य सचिव सुमनराज अर्याल सहभागी थिए। अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले भेटघाटको सहजीकरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा प्रधानमन्त्री कार्कीले आफूहरु पनि बेथिति र भ्रष्टाचार नियन्त्रण गर्नकै लागि आएको बताउँदै सरकार त्यसका लागि प्रयासरत रहेको बताइन्। प्रसाईंले उठाएका कतिपय माग जेन-जी आन्दोलनका क्रममा उठेकै भएकाले तिनको सम्बोधन गर्नु आफ्नो दायित्व रहेको कार्कीको भनाइ थियो। तर ऋण मिनाहा गर्ने विषय भने राज्यले कसरी थेग्न सक्छ भनेर विचार गर्नुपर्ने उनको धारणा थियो।

प्रसाईँले अघि सारेका मागका विषयमा आगामी दिनमा छलफल गर्दै जाने समझदारी भएको जनाइएको छ। अभियानका नेता प्रसाईंले प्रधानमन्त्री कार्कीलाई उपहारस्वरुप भगवती दुर्गाको मूर्ति प्रदान गरेका थिए। प्रसाईंले आफ्ना मागबारे प्रस्ट्याउँदै आफ्ना कुरा सुन्न तयार भएकामा सरकारलाई धन्यवाद पनि दिएका थिए। प्रधानमन्त्रीको सचिवालयकाअनुसार शान्तिपूर्ण वार्ताका माध्यमबाट सडकको आवाज सुन्ने वातावरण बनाइदिएको भन्दै प्रसाईंले गृहमन्त्री ओमप्रकाश अर्यालको पनि प्रशंसा गरेका थिए।

प्रधानमन्त्री कार्कीसँगको छलफलपछि सञ्चारकर्मीसँगको संवादमा प्रसाईंले सर्वदलीय तरिकाले जनमत सङ्ग्रहमा जानुपर्ने माग राखेको दाबी गरे। उनले प्रधानमन्त्री कार्कीले आगाम २ पुससम्म त्यसबारे निर्णय गर्ने आश्वासन प्राप्त गरेको पनि पत्रकारहरुलाई जानकारी दिए।