काठमाडौँ। मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले शीघ्र निर्वाचन आवश्यक भएको बताएका छन्। उनले सरकारी उदासीनता र केही दलको भ्रष्ट मोहका कारण निर्वाचन अनिश्चित हुँदै भन्दै चिन्ता पनि जनाए।
जेन-जी आन्दोलनको मर्म र नागरिक म्यान्डेटअनुरुप भ्रष्ट नेतालाई कारबाही गर्नुपर्नेमा सरकार उदासीन देखिएको पहाडीको आरोप छ। ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (डिसेम्बर १०) का अवसरमा समाजले गरेको नागरिक संवादमा उनले केही दलले जसकोविरुद्ध नागरिक विद्रोह भयो तीनकै नेतृत्वलाई निरन्तरता दिएर भ्रष्ट मोह प्रदर्शन गरेको पनि धारणा राखे। नागरिक आक्रोश पुन: बढ्न थालेकोतर्फ पहाडीले ध्यानाकर्षण गराए।
२३ भदौको दमन/हत्या र २४ भदौको ध्वंसका जिम्मेवारहरुलाई कारबाही गरी दण्डहीनताको अन्त्य गर्नुपर्नेमा पहाडीको जोड छ।
समाजकी सभापति रेनुका पौडेलको सभापतित्वमा भएको कार्यक्रममा नागरिक अगुवा अर्जुन पराजुली, विजयकान्त कर्ण, कृष्ण कँडेल, लेखक/पत्रकार श्रीकृष्णअनिरुद्र गौतम, लक्ष्मीधर गुरागाईलगायतले सुशासन लोकतन्त्रको मेरुदण्ड भएको हुँदा यो कायम हुनुपर्नेमा जोड दिएका थिए। उनीहरुले लोकतन्त्रको विकल्प खोज्नु नहुनेमा सजग रहनुपर्ने धारणा पनि राखे।
कार्यक्रममा जेन-जी अगुवा माजिद अन्सारी, मनीष खनाल र उमंग लोहनीले सुशासन र स्वतन्त्रताका लागि भएको आन्दोलनका विभिन्न आयामबारे चर्चा गरेको समाजकी उपनिर्देशक सरिता पौडेलले जानकारी दिइन्।